लहान । सिरहा प्रहरीले बिहीबार तस्करीमा प्रयाेग गरिएका ६ वटा माेटरसाइकल नियन्त्रणमा लिएकाे छ । सिरहाका विभिन्न स्थानबाट एकै दिन ती मोटरसाइकलसँगै करिब तीन लाख रुपैयाँ बराबरको मरिचलगायत सामान पनि बरामद गरेको हाे ।
प्रहरी चौकी झाझपट्टीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा डेढ लाख मूल्य बराबरको मरिच लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा स ६ प २०१३, स १ प ५४०१, स १ प ६५०७ र स ५ प ४५२९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका चार वटै मोटरसाइकलमा करिब चार क्विन्टल मरिच लोड गरिएको थियो । यस्तै सादा पोशाकमा खटिएका प्रहरी गस्ती टोलीले सिरहा नगरपालिका १८ अराहाबाट भन्सार छलेर नेपालतर्फ तस्करी भइरहेको सुर्तीजन्य पदार्थसहित स २ प ६४९१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
त्यस्तै प्रहरीले भगवानपुर गाउँपालिका–५ इनरुवाबाट अवैध सोफिया मदिरासहित मदिरा लोड गरिएको बिआर ३२ डी २१५५ नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले मदिरासहित सो मोटरसाइकल नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले बताए । बरामद भएका मोटरसाइकल र सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६