झापा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन् ।
झापाको चन्द्रगढीमा शुक्रबार प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।
वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने बताउँदै मुलुकको विकास र समृद्धिका लागि अब तीनै तहका सरकारलाई गतिशील बनाउनुपर्ने बताए ।
वर्तमान सरकारले संविधान कार्यान्वयन, सङ्घीय शासकीयस्वरुपअन्तर्गतका ऐन–कानुन निर्माण र लागू गर्ने सन्दर्भमा उल्लेख्य काम गरेको उल्लेख गर्दै उनले सरकारले ल्याएका केही विधेयक विवादस्पद देखिएकाले ती विधेयकका विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताए ।
नेता खनाल भद्रपुर जेसिजको आतिथ्यमा भद्रपुरमा हुन लागेको नेपाल जेसिजको क्षेत्र ‘क’ सम्मेलनको उद्घाटनका लागि झापा आएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६