काठमाडौं । डेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ । सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो ।
काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३३१ जना प्रभावित भएका छन् । यस्तै, देशभर डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।
काठमाडौंका स्थानीय ८१ जनालाई डेंगु संक्रमण भएको छ । २०७०/७१ मा ३०२ जना, २०७१/७२ मा १३४ जना, २०७२/७३ मा १ हजार ५२७ जना, २०७३/७४ मा २ हजार १११ जना, २०७४/७५ मा ८११ जना, २०७५/७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित भएकोमा चालू आर्थिक वर्षको ६० दिनमा २ हजार ९०८ जना यसबाट प्रभावित भइसकेका छन् । डेंगु महामारीका रूपमा फैलिएपछि मन्त्रालयले घरआँगन सरसफाइबाटै नियन्त्रणमा लाग्न आमनागरिकलाई आग्रह गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।
गत जेठमा धरान नगरपालिकाबाट फैलिएको डेंगु हाल ४२ जिल्लामा फैलिएको छ । मन्त्रालयले पानी जम्न सक्ने भाँडाहरू गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिने उपाय अवलम्बन गर्न सके मात्रै डेगुंको जोखिम घट्ने जनाएको छ ।
काठमाडौंको लगन टोलमा प्राणघातक रोग डेंगुको रोकथामका लागि स्मोक गनद्वारा औषधि छर्दै । काठमाडौंमा डेंगु देखा पर्न थालेपछि टोलटोलमा यसरी औषधि छर्ने कार्य हुने गरेको छ । तस्बिर : सत्यन श्रेष्ठ
चिकित्सकका अनुसार डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्छ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फूल पार्छ ।
डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तीन प्रकारका छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।
यस्ता लक्षण देख्नासाथ चिकित्स कहाँ जाऊँ
–उच्च ज्वरो आउनु
–टाउको दुख्ने, पेट दुख्ने
–वाकवाकी लाग्ने
–आँखाको गेडी दुख्ने
–जिउ जोर्नी दुख्ने
–रातोरातो बिमिरा देखापर्नु
यसरी बचाैं
–पानी जम्न सक्ने भाँडाहरूमा पानी जम्न नदिने
–पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने
– बाहुला भएको कपडा लगाउने
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्ने
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने
राजधानी दैनिकले छापेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६