इनरुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिस्फाेट गराएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिस्फाेट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिस्फाेट गराएको प्रहरीले जनाएको छ । बम बिस्फाेट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिस्फाेट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
केही दिनअघि सुनसरीको इटहरीबाट विप्लव समूहका लागि चन्दा उठाउने नाइके पक्राउ परेपछि उनीहरुले नै बिस्फाेट गराएको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिस्फाेट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको पनि उनले बताए । बिस्फाेटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६