आज राति नेपाली समय अनुसार राति १०ः४५ बजेपछि नेपालले विश्वकप छनोटको पहिलो खेल कुवेतविरुद्ध उसकै घरेलु जविर अल अहमेद इन्टरनेसनल मैदानमा खेल्दै छ ।
पहिलोपटक फिफा विश्वकपमा सिधै दोस्रो चरण खेल्न पाएको नेपालले कुवेतविरुद्ध खेल्दै विश्वकप छनोटको प्रारम्भ गर्न लागेको हो । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले आज खेल्न लागेको हो ।
नेपाल र कुवेत हालसम्म ६ पटक आमनेसामने भएका छन् । ‘हेड टु हेड’ मा नेपाल कुवेतसँग निकै पछि छ । ‘हेड टु हेड’को आधारमा खेलिएका ६ मध्ये कुवेत ५ खेलमा सफल भएको छ । एक खेल बराबरीमा सकिएको छ ।
नेपालले सन् १८८२ नोभेम्बरमा पहिलो पटक कुवेतसँग भएको एसियन गेम्स खेल्दा कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । सन् १९८६ को एसियन गेम्समा नेपाल ५–० गोल अन्तरले पराजित भयो । सन् १९९४ मा भएको एसियन गेम्समा नेपाल ८–० गोल अन्तरले पराजित भएको थियो । सन् २००० मा भएको एसियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो । त्यस्तै गत चैत पहिलो साता कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो भने दोस्रो खेलमा १–० ले पराजित भयो ।
नेपाल रहेको समूह बीमा अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपे समावेश छन् । नेपालले होम एन्ड अवेका आधारमा समूहका चार टिमसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले नेपाली टिमलाई अन्डरडग रुपमा उत्रने र छनोटका अधिकांश खेलमा अप्रत्यासित नतिजा निकाल्ने प्रयासमा हुने बताए ।
फिफा बरीयतामा पनि नेपालभन्दा कुवेत बलियो छ । नेपाल १ सय ६६ र कुवेत १ सय ५६औँ स्थानमा छ ।
कालिनलाई आशा जगाउने एउटै विषय भनेको कुवेतविरुद्व नेपालको पछिल्लो प्रदर्शन हो । नेपालले गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल गोलरहित बराबरीमा रोक्न सफल भएको थियो भने दोस्रो खेलमा पेनाल्टीमार्फत १–० ले पछि परेको थियो ।
यस पटक कुवेतलाई घरेलु मैदानमा हराउँदै नेपाली फुटबलको नतिजामा सकारात्मक छाप छाड्ने मुडमा मुख्य प्रशिक्षक कालिन छन् भने अहिलेसम्मको नतिजा उल्टाउने दाउमा नेपाली टोली रहने प्रशिक्षक कालिनले बताए ।
कालिन मुख्य प्रशिक्षकमा नियुक्त भएपछि खेलाडीको फिटनेसलाई पहिलो आधार मानेका छन् । उनले अनफिट खेलाडीलाई पहिलो चरणबाटै निकालेका छन् । सोही कारण नियमित कप्तान विराज महर्जन टिम बाहिर छन् । उनको अनुपस्थितिमा टिमको कप्तानी किरण चेम्जोङले गर्ने छन् ।
नेपालले पछिल्लो समयमा ४–४–२ को परम्परागत पद्धति छाडेर ४–३–३ को फर्मेसन प्रयोग गर्दै मैदानमा उत्रने तयारी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६