काठमाडौं । सरकारले दसैं तिहार लक्षित गरेर यही भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । गत वर्षको तुलनामा २० दिन अगाडि सञ्चालन हुन लागेको हो ।
गत मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित बसेको बैठकले भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेसँगै मन्त्रालयले विभिन्न संस्थान तथा कार्यालयहरुसँग समन्वय गरी तयारी थालेको हो । ग्राहकलाई छुट दिन निजी व्यवसायीसँग पनि गृहकार्य भइरहेको छ ।
सहुलियत पसल सञ्चालन भएसँगै प्रत्येक खाद्य सामग्रीमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, खाद्य व्यवस्था कम्पनी, दुग्ध विकास संस्थान र निजी व्यवसायीले पनि छुट दिने छन् ।
सहुलियत पसलबाट नुनमा बजार भाउभन्दा २, चामल मोटो प्रतिकिलो ५, चामल मसिनो प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ । गेडागुडीमा प्रतिकिलो १०, चिनीमा प्रतिकिलो ५, प्रतिलिटर घिउमा ५० रुपैयाँ छुट दिने संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । हाल घिउको मूल्य ९ सय रुपैयाँ पर्छ । स्टक अफर रहेकाले प्रतिकिलो ८ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । उक्त मूल्य छठसम्म कायम हुने उनले बताए ।
मन्त्रालयले सहुलियत पसल सञ्चालन गर्न मिति तय गरे पनि कति स्थानमा सञ्चालन गर्नेमा भने निर्णयमा पुगेको छैन ।
चाडबाडमा उपभोक्तालाई खाद्यान्नलगायत अत्यावश्यक वस्तुमा सहुलियत दिन बर्सेनि सहुलियत पसल सञ्चालन हुँदै आएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६