काठमाडौं । गत भदौ १४ गते शनिबार एटिएम प्रणाली नै ह्याक गरेर विभिन्न बैंकबाट करोडौँ रुपैयाँ चोरी भएपछि घटनाको अनुसन्धान गर्न सिंगापुरबाट विशेषज्ञ टोली नेपाल आई अध्ययन थालेको छ ।
दुई जना सम्मिलित प्राविधिक टोली बुधबार नेपाल आएर आजबाट काम सुरु गरेको बताइएको छ ।
नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को आग्रहमा फरेन्सिक विज्ञहरुको टोली नेपाल आएको हो । टोलीले ४ दिन नेपालमा रहेर अध्ययन गर्ने नेप्सले जनाएको छ ।
थप अध्ययनका क्रममा केही नयाँ ‘क्लू’ भेटिए त्यसको ‘ल्याब टेस्ट’का लागि सिंगापुर पठाइने छ ।
फरेन्सिक टोलीले पैसा चोरीको घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको भनेर पत्ता लगाउने छ । साथै थप अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आजै विद्युतीय सेवा प्रदायक कम्पनी ‘भिसा’ बाट पनि टोली नेपाल आउने बताइएको छ ।
गत शनिबारको घटनामा विभिन्न १३ वटा बैंकको एटिएमबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । विभिन्न ९ वटा बैंकको एटिएम कार्डमार्फत १३ वटा बैंकको एटिएम मेसिनबाट उक्त रकम चोरी भएको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६