काठमाडौं । तत्कालीन संविधानसभाका सभासद् डिबी कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेकाे छ ।
घूस लिएको अभियोगमा सर्वोच्च अदालतले ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएका कार्कीलाई व्युरोको टोलीले काठमाडाैँको सतुंगलबाट पक्राउ गरेको हो ।
प्रहरी इन्स्पेक्टर बनाइदिने भन्दै ५ लाख रुपैयाँकाे बार्गेनिङ गरेका कार्कीले एक लाख बैना लिँदै गर्दा उनी पक्राउ परेका थिए ।
आफ्ना सहयोगी ब्रह्मानन्द उदासिनलाई प्रहरी निरीक्षक बनाइदिने भन्दै पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६७ फागुनमा कार्कीसँगै उदासिनलाई रंगेहात पक्राउ गरेको थियो ।
विशेष अदालतले २०६७ सालमै कार्की र उनका सहयोगीलाई भ्रष्टाचारी ठहर गरी ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । कार्कीले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएका थिए । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले विशेष अदालतको फैसला हुबहु सदर गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६