काठमाडाैं । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।
सर्पले डसेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचार क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
यसैगरी, तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ ।
बुधबार खाल्डोमा डुबेर साविक सिम्ले–७ का डेबिट राईको ज्यान गएको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक तेजबहादुर दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
त्यसैगरी रुपन्देहीबाट दाङतर्फ जाँदै गरेको लु १ ख ८४५९ नम्बरको बस बुधबार राति राप्ती गाउँपालिका–१ पाखापनीमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार सल्यानको बागचौर नगरपालिका–१२ का १९ वर्षीया गीता केसी र लमही नगरपालिका–१ का ४५ वर्षीया गीता कुमाल गम्भीर घाइते छन् । सडकमा भएका खाल्डाखुल्डीका कारण बस दुर्घटना भएकाे बताइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६