काठमाडौं। काठमाडौं विश्वविद्यालयमा शैक्षिक पदहरूको पदपूर्तिका क्रममा नीतिगत र आर्थिक भ्रष्टाचार भएको आशंका गरिएको छ । पदपूर्तिका क्रममा छनोट समितिमा कार्यविधि विपरीत बढी व्यक्ति समावेश गरी सिफारिस गरेर नीतिगत र आर्थिक भ्रष्टाचार गरेको स्रोतले जनाएको छ । विश्वविद्यालयले गत माघमा विज्ञापन नम्बर ०३/२०७५/०७६ मार्फत स्कुल अफ आर्टसअन्र्तगतका तीनवटा पदमा भर्ना आह्वान गरेको थियो ।
स्कुल अफ आर्टसअन्र्तगत पेन्टिङ, विकास अध्ययन र पत्रकारिता विषयमा भएको सिफारिस विवादित बन्न पुगेको हो । छनोट समितिमा पाँच जना हुनुपर्ने व्यवस्था छ । तर, विश्वविद्यालयले २७ असार २०७६ मा उम्मेदवार छनोटका क्रममा छैटौं व्यक्तिसमेतलाई समावेश गरी सिफारिस गरेको स्रोतको दाबी छ ।
विश्वविद्यालयले यसबारे स्पष्ट जवाफ दिएको छैन । विश्वविद्यालयका सूचना अधिकारी हेमराज काफ्ले समितिमा पाँच जना मात्र रहेको दाबी गर्छन् । ‘अन्र्तवार्ताका क्रममा नोट गर्न या सहयोगका लागि कसैलाई लिएको हुन सक्छ । मलाई जानकारी भएन,’ सूचना अधिकारी काफ्लेले भने ।
विश्वविद्यालयले शैक्षिक, प्रशासनिक तथा अन्य पदपूर्तिका लागि शिक्षक तथा कर्मचारी सेवा सर्तसम्बन्धी नियम, २०५० पालना गर्नुपर्ने हुन्छ । कार्यविधिको बुँदा ३.३ को व्यवस्थाअनुसार समितिमा पाँच जना मात्र रहने व्यवस्था छ । सोे व्यवस्थाअनुसार उपकुलपति, कुलपतिद्वारा मनोनित एक विशिष्ठ विद्वान, कार्यकारी परिषद्द्वारा आमन्त्रित विशेषज्ञ, सम्बन्धित विषयको डिन र रजिस्ट्रार रहने व्यवस्था छ ।
व्यवस्थाअनुसार छनोट समितिमा उपकुलपति रामकण्ठ माकाजु, स्कुल आर्टसका डिन सागर शर्मा, रजिस्ट्रार सुबोध शर्मा, कुलपतिद्वारा मनोनित पुष्कर बज्राचार्य र आमन्त्रित सदस्यको रूपमा पी खरेल समितिमा रहेका थिए । तर, छैटौं व्यक्तिका रूपमा स्कुल अफ आर्टसको एसोसिएट डिन ईकुमाया पुनलाई समेत समावेश गराइएको स्रोतले जनाएको छ ।
कार्यविधिअनुसार विश्वविद्यालयले शिक्षक नियुक्ति आधारका रूपमा कार्य सम्पादन मूल्यांकन, कार्यक्षमता अंक विभाजन र सिफारिससम्बन्धी कार्यविधिलाई मान्नुपर्ने हुन्छ । सिफारिसप्रति चित्त नबुझेमा अन्य प्रतिस्पर्धीले नियुक्तिसँग सम्बन्धित सूचनाको विवरण माग गरेका थिए । विश्वविधालयले भर्ना प्रक्रियाबारे सूचना माग गर्दासमेत सूचना दिन नमानेको भन्दै उनीहरूले सूचना आयोगमा उजुरी गरेका थिए ।
आयोगले माग गरिएको सूचना उपलब्ध गराउन भन्दै विश्वविद्यालयलाई पत्र काटेको छ । विश्वविद्यालयले भने सूचना आयोगलाई पत्र पठाइएको र सूचना उपलब्ध गराउने प्रक्रियामा रहेको जनाएको छ । सूचना अधिकारी काफ्लेले भने, ‘बिदाको समय भएकाले सूचना उपलब्ध गराउनमा ढिलाइ भएको हो । कतिपय सूचना प्राध्यापक आन्दोलनले रोकिएको छ । यसमा केही समय लाग्न सक्छ ।’
समितिले विकास अध्ययन विषयमा विनायक कृष्ण थापा, पत्रकारितामा चण्डीराज र पेन्टिङ सागर मानन्धरलाई सिफारिस गरेको थियो । राजधानी दैनिकले लेखेकाे छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६