काठमाडौ । प्रहरी हुँ भन्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धम्की दिएको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौंको हलचोकबाट ताप्लेजुङका हिमाल लिम्बू र तेह्रथुमका भक्तबहादुर लिम्बूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।
उनीहरुले महाशाखाको प्रहरी सहायक निरीक्षक र हवल्दार भएको भन्दै काठमाडौंको स्वयम्भूका २६ वर्षीय धर्मगुरु आनान्दा छोरातेलाई दुई लाख रुपैयाँ माग गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरु हाल सामाखुसीमा बस्दै आएको खुलेको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको थापाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६