भक्तपुर । भक्तपुरका सडकमा जताततै जथाभावी लत्रिएर दुर्घटनाका कारण बन्दै आएको केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरू आगामी १५ दिनभित्र व्यवस्थापन नगरे कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मंगलबार प्रजिअ नारायण भट्टको अध्यक्षतामा सरोकारवाला निकायबीच भएको छलफलमा यस्तो निर्णय भएको हो । प्रजिअ भट्टले कुनै पनि बहानामा केबुल टिभी तथा इन्टरनेट प्रदायक कम्पनीले पन्छिन नपाउने भन्दै १५ दिनभित्र सडकमा लत्रिएका तार केबुल टिभी र इन्टरनेट कम्पनीले व्यवस्थापन गर्न निर्देशन दिँदै अन्यथा कारबाही गरिने बताए ।
निर्धारित समयमा व्यवस्थापन नगरे कारबाही अगाडि बढाउँदै लत्रिएका सबै तार काटेर व्यवस्थापन गरिने बताउँदै त्यसबाट पुग्ने असुविधाको जिम्मेवारी स्वयं कम्पनीले लिनुपर्ने प्रजिअले बताए । उनले गल्ती निजी कम्पनीले गर्ने अनि त्यसको दोष सरकारलाई दिने प्रवृत्ति बढेकाले तत्काल तार व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
हनुमन्ते सफाइ अभियानका सहसंयोजक एवं सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुन बस्नेतले सडकको बीचमा रहेको विद्युत् र टेलिकमको खम्बा नसारिँदा निकै समस्या आएकाले यसको व्यवस्थापनमा समन्वय गरिदिन प्रजिअलाई आग्रह गरे । हनुमन्ते सफाइ रुद्र पौडेलले अरनिको राजमार्ग खण्डको जडीबुटीदेखि नै अव्यस्थित रूपमा गुजुल्टो बनाएर लतारिएका नेपाल टेलिकम, विभिन्न इन्टरनेट प्रदायक कम्पनीका तारहरूले दैनिक दुर्घटना बढाएको बताए ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६