सोलुखुम्बू । बुधबार लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एअरको जहाजको इन्जिन तीन मिनेटमै ‘फेल’ भएको पाइएकाे छ ।
लुक्लाबाट बिहान ८ः२१ मा उडेको ‘नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ ।
विमानको एउटा इन्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिए । सो जहाजमा चालक दलका तीन जना मात्रै सवार थिए ।
काठमाडौंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कंदा खाली फर्किएको नागरिक उडड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।
प्राधिकरण लुक्लाका प्रमुख अधिकारीकाअनुसार उडिसकेपछि इन्जिन फेल भएकाले दुर्घटनाबाट जोगिएको हो ।
जहाज उड्ने समयमा यस्तो भएको भए केही दुर्घटना हुनसक्ने उनको भनाइ छ । क्याप्टेन भरत थापाले उडाएको जहाज बिहान ८ः५१ बजे सकुशल अवतरण गरिएको बताइएको छ । रासस
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६