काठमाडौं । धान, मकै, गहुँलगायत बाली नष्ट गरिरहेको अमेरिकी फौजी कीराको विषयले संसद्मा प्रवेश पाएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलका सांसद गणेश पहाडीले अमेरिकी फौजी कीराका कारण खाद्यान्न नष्ट भइरहेकाले तत्काल अनुसन्धान गरी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभाको शून्य समयमा उनले गत वैशाख २७ गते महाभारत क्षेत्रमा सो कीराले बाली नष्ट गर्दा किसान मर्कामा परेको हुँदा उक्त कीराका बारेमा तत्काल अनुसन्धान गरी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यसैगरी संघीय समाजवादी फोरम नेपालका सांसद उमाशंकर अरगरियाले धनुषा जिल्लामा कमला नदी नियन्त्रण गरी सिँचाइको विकास गर्न उपभोक्ता समितिले करोडाँै खर्च गरे पनि अझै जनतामा पानीको हाहाकार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सो क्षेत्रमा सिँचाइको अभाव भएर धेरै जमिन सुक्खा भएकाले बाँझै रहेकोसमेत जानकारी गराए ।
नेकपा सांसद खेमप्रसाद लोहनीले अब बनाइने सडक बाढी पहिरोले नभत्काउने खालको बनाउनुपर्नेमा जोड दिए । उनले वर्षायाम सकिँदै गएकाले अब सजग अपनाएर सडक बनाउन आग्रह गरे ।
नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा निर्माण गर्दा सरकारले तत्काल अस्थायी व्यवस्था गरेर निर्माण गर्नुपर्नेमा जोड दिए । उनले यही भदौ २७ गते इन्द्रजात्रा मनाउन लागेको र धरहराको बीचमा मृतकको सम्झनामा परिक्रमा गर्ने चलन रहेको जानकारी गराए ।
नेकपा सांसद कृष्णप्रसाद दाहालले गाईलाई भीरबाट खसाएर मारिएको विषयमा अध्ययन गरी सम्बन्धित दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेकपा सांसद कृष्णबहादुर राईले बाग्मती सभ्यता एकीकृत समितिले बाग्मतीलाई सोझ्याउने क्रममा त्यहाँका बासिन्दा घरबारविहीन भएर आन्दोलनमा उत्रिरहेको हुँदा सरकारले त्यस विषयमा सम्बोधन गर्न आग्रह गरे ।
नेकपा सांसद गणेशसिंह ठगुन्नाले दार्चुला जिल्ला महाकाली नगरपालिकाले सडक विस्तार गर्दा २० परिवार पहिरोमा परी विस्थापित भएको हुँदा पीडितलाई जतिसक्दो छिटो राहत उपलब्ध गराउनुपर्ने बताए ।
नेकपा सांसद घनश्याम खतिवडाले सहकारी क्षेत्रमा सुशासन कमजोर हुदै गएको हुँदा वित्तीय अनुशासन पनि कमजोर हँुदै गएकाले सहकारी संस्थालाई सुशासनमा ल्याउन र गरिबी न्यूनीकरणका लागि विशेष पहल गर्न आग्रह गरे ।
नेकपा सांसद जुलीकुमारी महतोले तराई–मधेसमा जन्मसिद्ध नागरिकका छोराछोरी नागरिकताबाट वञ्चित भएको हुँदा हजारौ नेपाली नागरिकताविहीन भएकाले समाधानको उपाय खोज्न माग गरिन् ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६