काठमाडौं । उनी नेपाली भाषा राम्ररी बुझ्छन् । र, राम्ररी नै आशय बुझ्ने गरी बोल्छन् पनि । तर आफ्नाे बोली कसैले नसुनिदिएको उनको गुनासो छ । ११ वर्षअघि आफैँले राखेकी महिला कर्मचारीबाट अन्यायमा परेको बताउने उनी आजको न्युजको कार्यालयमा आएर न्याय दिलाइदिन आग्रह गरे ।
उनी अर्थात् मनमोहन पाण्डेय । ३८ वर्षदेखि नेपालमा बसाेबास गर्दै आएका छन् । हाल अगरबत्तीकाे व्यवसाय गर्दै आएका भारतीय नागरिक मनमोहन ११ वर्षदेखि न्यायका लागि दौडिरहेका छन् । न्यायका लागि उनी कहाँ मात्र गएनन् । प्रहरीदेखि मन्त्रालय, मिडियादेखि राजदूतावास सबैतिर धाइसकेका छन् । तर कसैले आफूलाई सहयोग नगरेको उनको गुनासो छ ।
भारतको दरभंगा स्थायी घर भएका मनमोहनले नेपालमा धुप (अगरबत्ती) को व्यापार थालेको ३० वर्ष नाघिसकेको छ । नेपालकै ठूला व्यापारीसँग थोकमा अगरबत्ती लिनु र होलसेल तथा खुद्रा बेच्नु उनको दिनचर्या हो ।
सुरुसुरुमा त उनले एक्लै यो पेसा गरे । काठमाडौंका नरदेवी र बांगेमुढा उनको व्यापारिक क्षेत्र थियो । उनी सडकमै बसेर धुप बेच्थे । पसल पसलमा पनि पुर्याइदिन्थे ।
विस्तारै उनको व्यवसाय बढ्न थाल्यो । खुद्रा किन्ने त छँदै थिए, थोकमा किन्ने पसलेको संख्या पनि थपिँदै गए । उनलाई व्यापारको दायरा बढाउन मन लाग्यो । उनले बांगेमुढामा एउटा कोठा भाडामा लिए र व्यवसाय सुरु गरे ।
२०६५ सालमा उनका होलसेल ग्राहक निकै भइसकेका थिए । पसल पसलको अर्डर आउँथ्यो । उनले कोही मान्छे राखेका थिएनन् काम गर्न । अर्डरका सामान पुर्याउन कुदिरहनुपर्ने भएकाले पसलमा बस्ने मान्छे भएनन् । त्यसपछि उनले पसलमा काम गर्न एक युवतीलाई राखे । ती युवती थिइन्, काभ्रेकी सुनिता त्रिपाठी ।
सुरुसुरुमा त सुनिताले पनि राम्ररी नै काम गर्दै गइन् । तर केही समयपछि नै उनको गतिविधि पाण्डेयलाई चित्त बुझेन । साथी भन्दै पसलमा दिनैजसो केटा मान्छेहरु आउन थाले । उनले सुरुमा त सुनितालाई सम्झाए, बुझाए । तर सुनिताको क्रियाकलापमा सुधार आएको पाएनन् पाण्डेयले ।
व्यापारमै असर पुग्ने देखेपछि पाण्डेयले सुनितालाई सोही वर्षको दसैँताका कामबाट हटाए । सुनितासँग पसलको केही हिसाबकिताब बाँकी थियो । पाण्डेयले भोलि आएर पसलको हिसाबकिताब मिलाउनू अनि काम छोड्नू भनेका थिए । तर सुनिता आउँदै आइनन् ।
तर जब केही समयपछि उनले सुनितासँग पसलको हिसाबकिताब मागे, तब सुनिताले आनाकानी गरिन् । उनले हिसाब जसरी पनि मिलाउन दबाब दिए । अर्को देशबाट आएर दुःख गरेर कमाएको पैसा छोड्न कसरी सक्थे । सुनिताले ‘म ममीलाई लिएर आउँछु । हिसाब गर्न आउनु’ भनेर न्युरोडकै कुनै ठाउँमा बोलाइन् । तर त्यहाँ पाण्डेय पुग्दा सुनिताले गुण्डाहरु लिएर आएकी रहिछन् । पाण्डेयले भने, ‘त्यहाँ मलाई हातपात भयो ।’
त्यसपछि सुनिताले विभिन्न नयाँ नम्बरहरुबाट फोन गरी केटाहरुलाई थर्काउन लगाएको पाण्डेयको गुनासो छ । उनले भने, ‘हिसाब माग्दा उनले विभिन्न नम्बरबाट फोन गर्दै विभिन्न गुण्डाको प्रयोग गरी थर्काउने काम गरिन् ।’
सुनिताले केही गुण्डा प्रयोग गरी पसलमै आएर रकमसमेत लुटेको पाण्डेयले बताएका छन् । ‘मेरो पसलमा आएर लुटपाट गर्ने काम भयो । कहिले पसलमा त कहिले बाटोमै लुटपाट भयो । त्यो समयमा एक लाख जति नगद लुटियो’, उनी भन्छन्, ‘त्यति मात्र होइन, सुनिताले प्रहरीलाई फोन गर्न लगाएर हिसाब नमाग्न पनि निरन्तर दबाब दिइरहिन् ।’
त्यतिले नपुगेर पाण्डेय र आफूबीच अनैतिक सम्बन्ध रहेको भनेर सुनिताले ब्ल्याकमेलिङ गरेर फसाउन खोजेको पाण्डेयले बताए । तर त्यो आफूलाई फसाउन चालिएको चाल मात्रै भएको भन्दै पाण्डेय भन्छन्, ‘यो सब गलत हो । डिएनए परीक्षण गर्न म तयार छु । र प्रमाणित भएमा जस्तोसुकै सजाय भोग्न पनि तयार छु ।’
पसलमै आएर लुटपाट गर्ने र आफूलाई धम्की दिनेको नाममा किटानी जाहेरी दिए पनि न्याय नपाएको पाण्डेयको गुनासो छ । ‘मैले नेपालस्थित भारतीय राजदूतावासमा पनि निवेदन दिएँ । नेपाल प्रहरीसँग गुहार मागेँ । नेपाल मानवअधिकार संगठनसँग पनि पटकपटक न्याय मागेँ’, उनी भन्छन्, ‘११ वर्ष भइसकेको छ, मैले न्याय पाएको छैन ।’
त्यति मात्रै होइन, आफूलाई परेको अन्यायविरुद्ध न्याय माग्दा उनले आफँै प्रहरी हिरासतमा बस्नुपर्यो । ‘न्यायको लडाइँ लड्दै गर्दा आफैँ हिरासत परेको छु । तर मलाई किन थुनामा राखियो ? अहिलेसम्म उत्तर पाएको छैन ।’
पसलमा गुण्डागर्दी शैलीमा आएर लुटपाट गरे । धेरैवटा नम्बरबाट धम्की आइरहेको छ । न्याय दिलाइपाउँ भनेर प्रहरीमा जाँदा उल्टै आफूलाई थुनेकामा उनी आश्चर्य व्यक्त गर्छन् । न्याय माग्न जाँदा उल्टै आफैँ किन हिरासतमा परे ? यस विषयमा न उनले बुझेका छन्, न कसैले बुझाइदिएको छ ।
पाण्डेयले २०६७ साल जेठ २७ गते महानगरीय प्रहरी परिसरमा आफूलाई धम्की आएका २३ वटा फोन नम्बर उल्लेख गरेर कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए । त्यसको केही सुनुवाइ भएन ।
२०६८ सालमा एक दिन उनी बागबजारस्थित साथीको पसलमा बसिरहेका थिए । प्रहरीको टोली त्यहाँ आयो र उनलाई हतकडी लगाएर लग्यो । त्यसपछि उनलाई २४ दिन थुनामा राख्यो । २४ दिनमा तीन हजार रुपैयाँ धरौटी जम्मा गरेर उनी छुटे ।
उनलाई किन पक्राउ गरियो, किन २४ दिनसम्म थुनामा राखियो । कसले उनीविरुद्ध के कसुरमा उजुरी हालेको थियो भनेर उनले प्रहरीलाई सोधे । तर उनले त्यसको उत्तर पाएनन् । र, आजसम्म पनि पाएका छैनन् । त्यसपछि पनि उनले न्याय पाउने आशा राखेर लडिरहे । ‘तर अब चैं न्याय पाउने आश हराउँदै गएको छ’, उनले भने ।
२०६९ सालको जेठमा गृह मन्त्रालयको शान्ति सुरक्षा शाखा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनले न्यायका लागि उजुरी गरेको बताए । गृहको शान्ति सुरक्षा शाखाले २०६९ जेठ ८ गते जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै निजलाई न्यायका लागि आवश्यक कारबाही गर्न आदेश गरेको छ ।
‘अन्तिम पटक २०७० सालमा मानवअधिकार संगठनमा निवेदन दिएको छु’, उनले भने, ‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय धाइरहेकै छु ।’
उनले भने, ‘यसबीचमा गृह मन्त्रालयका सहसचिव एकमणि सर, कृष्णहरि सर, डिल्लीराज पोखरेल, शंकर कोइराला आदिलाई भेटिसकेँ । तर न्याय पाएको छैन ।’ त्यस्तै हनुमानढोकामा कार्यरत तत्कालीन एसएसपी जयबहादुर चन्दलाई पनि भेटेर आफ्नो समस्या सुनाएको उनी बताउँछन् । एसएसपी सुबोध घिमिरेलाई पनि भेटेर उनले न्याय मागेका छन् । उनी भन्छन्, ‘सुबोध सरलाई भेटेपछि भने बाटोमै लुट्ने काम चाहिँ रोकियो ।’
पाण्डेयको एउटै माग छ– आफूलाई न्याय । यदि आफूले कुनै गल्ती गरेको भए सजाय भोग्न तयार छन् उनी । तर यदि कुनै गल्ती छैन भने आफूलाई न्याय दिलाउन उनले आग्रह गरे । उनी प्रश्न गर्छन्, ‘११ वर्षसम्म पनि मैले न्यायको अनुभूत गर्न नपाउनुको कारण के हो ?’
‘यदि मेरो कुनै गल्ती छ भने अहिले पनि सजाय भोग्न तयार छु’, उनको भनाइ छ, ‘होइन भने मलाई क्षतिपूर्तिसहित न्याय दिलाइदिनुहोला ।’
(*याे समाचारमा ११ वर्षदेखि न्यायकाे खाेजी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ । -सम्पादक)
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६