विराटनगर । उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा २ हजार ४ सय ८२ मुद्दा फर्छ्योट गरेकाे छ । अदालतले गत आवमा दर्ता भएका ३ हजार चार सय ६८ र जिम्मेवारी सरेका ९ सय ५६ गरी जम्मा ४ हजार ४ सय २४ मुद्दामा ५६ प्रतिशत मुद्दा फर्छ्योट गरेको अदालतका रजिस्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए ।
मुद्दा फर्छ्योट हुन बाँकी रहेका मुद्दामा २ वर्ष नाघेका २१, १८ महिनादेखि २ वर्षभित्रका ५३, एक वर्षदेखि १८ महिनासम्मका १ सय १०, नौ महिनादेखि एक वर्षभित्रका ३ सय ५५ र नौ महिनाभित्रका १ हजार ४ सय ३ थान छन् ।
अदालतले गत आर्थिक वर्षमा २ हजार २ सय ८५ मुद्दा दर्ता हुने अनुमान गरेकोमा एक हजार १ सय ८३ मुद्दा बढी दर्ता भएको फर्छ्योटको प्रतिशतमा कमी आएको जनाएको छ । यसरी दर्ता भएका मुद्दामा सबैभन्दा बढी सम्पत्तिसम्बन्धी लेनलेनदेनका ९ सय २९, लागू औषधका ४ सय १३, मेलमिलापमा ३ सय ९८, महिला पक्षका ३ सय ९२, ज्यानसम्बन्धी ३ सय १०, करणीसम्बन्धी २ सय ६१, लिखतसम्बन्धी कसुरका २ सय २४, चोरी तथा डकैती २ सय २, मोहीसम्बन्धी २ सय ५३ र बहुविवाहसम्बन्धी ७४ थानलगायतका मुद्दा दर्ता भएका थिए ।
अदालतले चालु आर्थिक वर्ष २०७६/७७ मा नयाँ मुद्दा २ हजार ८ सय ४९ र गत आर्थिक वर्षको जिम्मेवारी सरेको १ हजार ९ सय ४२ गते कूल ४ हजार ७ सय ९० मा ३ हजार ३ सय ६६ फर्छ्योट गर्ने लक्ष्य लिएको छ । यसरी फर्छ्योट गरिने मुद्दामा प्रतिइजलास ६ सय ७४ मुद्दा रहने रजिस्ट्रार कट्टेलले जानकारी दिए । अदालतले आव २०७३/७४ मा ३ हजार ८ सय ३५ मुद्दा दर्ता भएकोमा २ हजार ३ सय ९१ अर्थात ५६.७३ प्रतिशत फर्छ्योट भएको थियो ।
यस्तै आव २०७४/७५ मा ३ हजार ३ सय ५२ मुद्दा दर्तामध्ये २ हजार ३ सय ९६ अर्थात ७१.४७ प्रतिशत फर्छ्योट भएको रजिस्ट्रार कट्टेलले बताए । विराटनगरस्थित उच्च अदालतको कार्यक्षत्र मोरङ र सुनसरी छ । रासस
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६