काठमाडौं । सोमबार तीजको अवसरमा कपिलवस्तुमा खोलामा नुहाउन जाँदा बेपत्ता भएका तीनै जनाको शव भेटिएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बेलभरिया नजिकैको नदीमा नुहाउँदा बेपत्ता भएकामध्ये बेचनप्रसाद कोहारकी १५ वर्षीय छोरी ताराको शव मंगलवार बिहान भेटिएको थियाे ।
यसैगरी बेपत्ता भएका अन्य दुई जना आठ वर्षीया खुश्बु रैदास र २५ वर्षीया तारामती कोहारको शव मंगलबार दिउँसो दक्षिण मलखोरियाका नदी किनारमा तैरिएको अवस्थामा फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी तीनै वटा शव परिवारलाई बुझाउने तयारी भइरहेको बताइएकाे छ ।
बेपत्ताहरूकाे खोजीका लागि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम परिचालन गरिएको थियाे । बाढीका कारण खोलाको पानी धमिलो भएकाले खोजी गर्न निकै समस्या आएकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६