काठमाडौं । विगत एक महिनाभन्दा बढी समयदेखि तीव्ररुपमा बढेको सुनको मूल्यमा पछिल्लो समयमा भने उतारचढाव आइरहेको छ ।
केही दिनअघि भाउ बढेर ७३ जहार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य सोमबार घटेर ७२ हजार कायम भएको थियो । तर आज मंगलबार एक्कासी ५ सय रुपैयाँ बढेर प्रतितोला ७२ हजार ५ सयमा कारोबार भइरेहको छ ।
यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य प्रतितोला ७२ हजार २ सय र चाँदीको मूल्य ८ सय ९५ रुपैँया कायम गरेको जानकारी दिएको छ ।
सोमबार तेजाबी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा र चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ५२८.५० अमेरिकी डलर पुगेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६