काठमाडौं । सोमबार तीजको अवसरमा कपिलवस्तुमा खोलामा नुहाउन जाँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बेलभरिया नजिकैको नदीमा नुहाउँदा बेपत्ता भएकामध्ये बेचनप्रसाद कोहारकी १५ वर्षीय छोरी ताराको शव मंगलवार बिहान भेटिएको कपिलवस्तु प्रहरीले जनाएको छ । डुबेर बेपत्ता भएका तीनमध्ये दुई जनाको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
२५ वर्षीया तारामती कोहार र आठ वर्षीया छोरी खुश्बु रैदास अहिलेसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी जारी छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम परिचालन गरिएको छ ।
बाढीका कारण खोलाको पानी धमिलो भएकाले खोजी गर्न समस्या भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६