काठमाडौं। नेपालका विभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहले भारतबाट पनि नेपाली बैंकको एटीएम प्रयोग गरी रकम निकालेको तथ्य बाहिरिएको छ। युरोपमा बसेर नेपाली बैंकको स्विफ्ट कोड चोरी नेपालमा रहेका ती चिनियाँ नागरिकलाई पैसा निकाल्न निर्देशन दिने गिरोहले नै भारतबाट नेपाली एटीएम प्रयोग गरेर रकम निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
सो घटनाको अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार नेपालका बैंकबाट रकम निकाल्ने गिरोहले नै भारतीय बैंकबाट नेपाली बैंक एभरेष्ट र माछापुच्छ्रे बैंकको एटीएम प्रयोग गरी एक करोड नेपाली रुपैयाँ निकालेको फेला परेको हो।अधिकांश नेपाली वाणिज्य बैंकका एटीएम भारतीय बैंक तथा एटीएम मेसिनमा प्रयोग गर्न सक्ने भएपछि गिरोहले नेपाली एटीएम प्रयोग गरेर पैसा निकालेको फेला पारेपछि अहिले भारतीय पक्षसँग पनि कुरा गरिरहेको डीएसपी बोगटीले जानकारी दिए।
भारत र नेपालबाट अवैधरूपमा निकालिएको रकम व्यक्तिको नभएर बैंकको भएको बैंकर एसोसिएसनले बताए पनि त्यसरी निकालिएको रकम व्यक्तिको समेत रहेको दाबी प्रहरीले गरेको छ।उक्त घटनामा चिनियाँ नागरिकको नेपाल आवागमनका बारेमा अनुसन्धान गर्ने क्रममा उनीहरूले पैसा नेपालमा निकाले पनि योजना भने युरोपेली मुलुक स्पेनमा बसेर बनाएको प्रहरीले खुलासा गरेको छ।
नेपालमा समातिएका चिनियाँ नागरिक भरियामात्र भएको आशंका गरिएको छ। ‘उनीहरूलाई नेपाल आउन, जान र नेपाल बसाइको सबै रकम ह्याकर समूहले नै बेहोरेको र उनीहरू सुरक्षितरूपमा चीन फर्किए ५० हजार चिनियाँ युआन दिने सहमतिअनुसार उनीहरू नेपाल आएको देखिन्छ।’ घटनाको अनुसन्धान गरिरहेको प्रहरीका एक अधिकारीले जानकारी दिए।
प्रहरीले उक्त घटनामा संलग्न रहेर फरार भएका तीन जनामध्ये एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। चिनियाँ मूलका फ्रान्सेली नागरिक सु लुस लीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपालबाट मलेसिया भाग्ने क्रममा विमानस्थलबाट पक्राउ गरिएको हो। विमानस्थलबाट पक्राउ परेका सु प्राविधिक विज्ञ भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका चिनियाँ नागरिकको बयानका आधारमा ठमेलमा रहेका तीन वटा मनी चेन्जरका सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई विभिन्न बैंकबाट निकालिएको नेपाली रुपैयाँलाई अमेरिकी डलरमा सटही गरेको अभियोगमा पक्राउ गरिएको हो।सटही अभियोगमा पक्राउ पर्नेमा डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने रहेका छन्। लामिछानेले राम्रो रकम कमिसन आउने लोभमा २९ लाख ९९ हजार रुपैयाँ सटही गरेका थिए। नेपाल समाचारपत्रले लेखेकाे छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६