कतार । गैरआवासीय नेपाली संघको सचिव पदमा मध्यपूर्व संयोजक आरके शर्मा (राजेन्द्रकुमार) ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनएएनसिसी कतारको सल्लाहकार, आइसिसी सदस्य हुँदै मध्यपूर्व संयोजकको नेतृत्व गरेका शर्मा ले २०१९–०२१ कार्यकालका लागि सचिवको उम्मेदवारी घोषणा गरेका हुन् । मध्यपूर्व संयोजक हुँदा शर्माले प्रायः सबै देश पुगेर नेपाली श्रमिकका समस्याबारे सम्बन्धित निकायमार्फत समाधानको पहल गरेका थिए ।
वैदेशिक रोजगारीमा आउने श्रमिकहरुको पक्षमा पहिलो प्राथमिकतामा राख्दै काम गरेका शर्माले स्वास्थ्य, सुरक्षा तथा सचेतना कार्यक्रमदेखि घरेलु कामदारको रुपमा आउने महिलाले झेल्नुपरेका समस्या निराकरण तथा दूतावासबाटै श्रम स्वीकृति दिलाउनेसम्म योजना बनाएका छन् ।
नेपालमा मध्यपूर्वबाट लगानी तथा पर्यटक भित्र्याउन पहल गर्दै आएका शर्माले सम्पूर्ण एनआरएनका अभियन्ताले साथ दिनेमा आफू विश्वस्त रहेको बताए । कतारलगायत विभिन्न देशमा सफल व्यवसाय गर्दै आएका शर्मा मध्यपूर्वका खाडी राष्ट्रहरुमा श्रमिक नेपालीहरुमाझमा लोकप्रिय छन् । गैरआसीय नेपाली संघको विश्व सम्मेलन आउँदो अक्टोबर १५ देखि १७ सम्म काठमाडौँमा हुने छ ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६