पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले पाकिस्तानसँग स–साना परमाणु बम रहेको भन्दै भारतलाई कम नआँक्न चेतावनी दिएका छन् ।
उनले पाकिस्तानसँग एक सय २५ देखि दुई सय ५० ग्रामसम्मका स–साना परमाणु बम रहेको र यसबाट सजिलैसँग भारतलाई लक्ष गर्न सक्ने बताए ।
‘श्रीनगरको लाल चोकसँग पाकिस्तानको रगतको सम्बन्ध छ । अब पाकिस्तानले काश्मीरमा जे पनि गर्न सक्छ’, रशीदले भनेका छन्, ‘किनकि मामिला सन् १९४७ बाट अघि बढेको छ । यदि भारत लाहोरतर्फ बढेमा हामीले स्मार्ट बम राखेका छौं ।’ आफ्नोतर्फ अघि बढेमा भारतीय फौजलाई ट्यांकले उडाउने धम्की पनि मन्त्री रशीदले दिएका छन् । उनले भने, ‘हामीसँग सबै साइजको मिसाइल छ ।’
भारतले जम्मू कश्मीरमाथिको विशेषाधिकार हटाएपछि नियन्त्रण रेखा र अन्य सम्झौता अन्त्य भएको रशीदको जिकिर थियो ।
यता पाकिस्तानका तर्फबाट आइरहेको आक्रामक बयानलाई भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले भड्काउपूर्ण अभिव्यक्तिको संज्ञा दिएका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६