काठमाडौं । खेलमा मिलेमतो (म्याच फिक्सिङ) गर्ने खेलाडी र सहयोगीलाई समेत कारबाही गर्ने गरी तयार गरेको विधेयक संसद्मा पेस भएको छ ।
सरकारले पेस गरेको विधेयकअनुसार मिलेमतो भएको प्रमाणित भएमा तीन वर्ष जेल सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान छ । साथै रकमको लेनदेन गरेमा सो रकम जफत गर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले ल्याएको ‘खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सो प्रावधान राखिएको हो । ‘नेपाल भित्र, नेपालको प्रतिनिधित्व गरी विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसँग सम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धा गर्दा आउने स्वाभाविक परिणाम प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी गरी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन’, विधेयकमा उल्लेख छ ।
मिलोमतोका लागि उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई समेत कारबाहीको दायरामा ल्याउन सकिने विधेयकमा व्यवस्था छ । हाल सो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभा आइपुगेको हो । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा हाल सो विधेयक छलफलकै क्रममा छ ।
विधेयकमा तीन वर्ष कैद र ३० हजार जरिवानाको प्रावधान राखिए पनि सांसद् विमला विश्वकर्मा र आशाकुमारी विकले भने म्याच फिक्सिङ गर्नेलाई पाँच लाखसम्म जरिवाना र हदैसम्मको कारबाहीको व्यवस्था राख्नुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६