मलेसिया । गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीहरूको जीवन रक्षा तथा मर्यादित रोजगार गैरआवासीय नेपाली संघको प्रमुख एजेन्डा हुने बताएका छन् ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् मलेसियाको छैटौं अधिवेशनमा एनआरएनएको केन्द्रीय अध्यक्ष पदका प्रत्यासी आचार्यले हरेक दिन कम्तीमा दुई नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेको दृष्टान्त ज्यादै दुखद् रहेको बताए ।
उनले मलेसियामा हरेक दिनजसो नेपाली दाजुभाइहरूको हृदयाघात भएर मृत्यु अनि अंगभंग हुने, घाइते हुने जस्ता समस्या रहेको बताए । मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भने, ‘विभिन्न समस्यामा परेका नेपाली दाजुभाइ, दिदीबहिनीलाई सहयोग गर्न कोष स्थापना गर्न लागेकामा खुसी लागेको छ, त्यसमा मेरो व्यक्तिगत तथा संस्थागत पूर्ण सहयोग रहने छ ।’
अध्यक्ष भवन भट्ट जस्तै आफूले पनि बेलायतमा भाँडा माझेर व्यवसाय सुरु गरेको स्मरण गर्दै आचार्यले मलेसियालगायत मुलुकमा काम गर्ने नेपालीहरूको पीडा आफूले राम्रोसँग बुझेको बताए ।
गैरआवासीय नेपाली संघ धन हुने भन्दा पनि मन हुनेहरूको संस्था रहेको उल्लेख गर्दै आचार्यले संस्थालाई सबै गैरआवासीय नेपाली अटाउने साझा चौतारी बनाउने आफ्नो मिसन रहेको बताए ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, एनआरएनए अध्यक्ष भवन भट्ट, एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष खगेन्द्र न्यौपानेले पानसमा दीप बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।
नेपाली युवाको मुख्य वैदेशिक रोजगार गन्तव्यका रूपमा रहेको मलेसियाको रोजगारी गत एक वर्षभन्दा बढी समयदेखि बन्द छ । मलेसिया जाने नेपाली कामदारको संख्या घटे पनि मृत्यु र अंगभंग हुनेको संख्यामा सबैभन्दा अगाडि छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार गत वर्ष करिब दुई सय नेपालीले ज्यान गुमाइसकेका छन् । ६७ जना गम्भीर रूपमा अंगभंग भएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६