सर्लाही । एक लाख ऋण दिएकालाई १० लाखको र पाँच लाख ऋण दिएकालाई करोडसम्मको तमसुक बनाएर गाउँलेको उठिवास गराएका सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) अन्ततः पक्राउ परेका छन् । न्याय माग्न काठमाडौं पुगेका पीडितले दबाब सिर्जना गरेपछि प्रहरीले आइतबार साँझ सर्लाहीबाटै उनलाई पक्राउ गरेको हो ।
एक पटक पैसा दिएर सातपटकसम्म कागज बनाउने र उच्च ब्याजको धन्दाबाट धेरैलाई ठगी गरेकाले उनलाई ठगी मुद्दामा कारबाही गरिने प्रदेश २ का डिआइजी प्रद्युम्न कार्कीले बताए । पीडित स्थानीय न्याय माग्दै हाल राजधानीमा छन् । परदेशीको ठगी धन्दाबारे समाचार आएपछि प्रहरी उनलाई पक्राउ गर्न बाध्य भएको हो । धेरै पहिलेदेखि नै उनलाई पक्राउ गर्न पीडितले माग गर्दै आए पनि कानुनी आधार नभएको भन्दै प्रहरी पन्छिने गरेको थियो । लेनदेनसम्बन्धी मुद्दा भएको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न मानेको थिएन । चर्काे ब्याजदरमा पैसा लगाएर हुने ठगीबारे अनुसन्धानमा प्रहरीले चासो दिएको थिएन ।
परदेशीबाट पीडितहरू तीन वर्षदेखि न्यायको खोजीमा छन् । उनले बनाएको नक्कली कागजको आडमा अदालतले पक्राउ पुर्जी जारी गर्दा कतिपय गाउँबाट विस्थापितसमेत भएका छन् । उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत अनुसन्धान गर्न सक्छ । अत्यधिक ब्याजबाटै उनले करोडौँ सम्पत्ति जोडेका छन् । त्यसको अनुसन्धान गरी मुद्दा दायर गर्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
विगतमा प्रहरीले पीडितलाई न्याय दिने केही प्रयास गरेको थियो । परदेशीले झुक्याएर बनाएका केही कागज प्रहरीले च्यातिदिएको थियो । ‘म सर्लाहीमा हुँदा उनलाई पक्राउ गरेर यस्तो काम नगर्न चेतावनी दिएको थिएँ, केही कागज च्यात्नसमेत लगाएँ,’ हाल काठमाडौं प्रहरी परिसरका प्रमुख रहेका एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘पछि उनी भागेर भारत बस्न थाले ।’
गरिब सर्वसाधारणलाई झुक्याएर तमसुक बनाउने उनी ती कागजात आफ्नो घरमा समेत राख्दैनन् । भारत लगेर आफन्तको घरमा राख्छन् । घरमा कसैले चोर्न तथा लुट्न सक्ने डरले भारतबाटै उनले यस्तो धन्दा चलाउँदै आएका छन् । आइतबार ती कागजपत्र लिएर उनी भारतबाटै आएका थिए । पीडितबाटै असुरक्षित महसुस गर्ने उनी घरबाट गुप्त रूपमा बाहिर निस्किने गरेको स्थानीय बताउँछन् ।
ऋण दिएर ठगी गर्ने उनको यो ‘पुर्ख्याैली धन्दा’ हो । उनका बुबाले समेत यस्तै काम गर्थे । स्थानीय नेता तथा प्रहरी-प्रशासनलाई समेत आर्थिक प्रभावमा पारेर उनले यस्तो काम गर्दै आएको स्थानीयको भनाइ छ ।
०३८ देखि आफूले यस्तो काम गर्दै आएको परदेशले सुनाए । तर, आफूले कानुनअनुसार नै लेनदेनको काम गर्दै आएको उनको दाबी छ । पक्राउ पर्नुअघि नयाँ पत्रिकासँगको कुराकानीमा आफूले चर्काे ब्याज लिएको स्वीकार गरे । तर, कसैलाई नझुक्याएको उनको दाबी छ । नयाँ पत्रिकामा खबर छ ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६