काठमान्डाै : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार आर्थिक वृद्धि तथा प्रशासनिक काममा सफल भएको बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले नेपालले सात प्रतिशतको आर्थिक वृद्धि गरेको तथा कर्मचारी समायोजनमा द्रुत काम भइरहेका बताए । संविधानअनुसार ऐन, कानून बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध व्यवस्थित गरेको उनको धारणा थियो ।
उनका अनुसार कतिपय कानून सङ्घीय संसद्मा पुगेका तथा केही छलफलका क्रममा र कतिपय मस्यौदा भइरहेका छन् । स्थानीय तहलाई ध्यानमा राखेर पहिलो चरणको लोकसेवा आयोगको विज्ञापन खोलीसकिएको र अब सङ्घ तथा प्रदेशका लागि विज्ञापन खोल्ने प्रक्रिया भइरहेको उनले जानकारी दिए ।
मन्त्री पण्डितले सरकार भ्रष्टाचारीलाई कारवाही गर्ने कुरामा निर्मम भएर प्रस्तुत भएको उल्लेख गर्दै दोषी जो भए पनि कारवाही गर्न पछि नहट्ने बताए । फरक प्रसङ्गमा उनले गौहत्या भएको विषयमा अनुसन्धान भइरहेकाले अपराध गरेको प्रमाणित भए सरकारले दण्डित गर्ने बताए ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६