स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने भन्दै गुण्डागर्दी गर्दै हिँड्नेलाई हटाइने चेतावनी दिएकी छिन् ।
काम नगर्ने ठेकेदारका दिन समाप्त भएको चेतावनी मन्त्री अर्यालले दिइन् । ‘सम्झौता गरेर काम नगर्ने, होल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन्’ मन्त्री अर्यालले भनिन्, ‘सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ ।’ काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागि जनप्रतिनिधि साझा भएको समेत बताइन् ।
अर्को प्रसंगमा बोल्दै मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवास्वप्न नदेख्न आग्रह गरिन् । पछिल्लो समय सामाजिक सञ्जालमा भएका टीकाटिप्पणीतर्फ संकेत गर्दै अर्यालले हरेकको मूल्यांकन जनताले गर्ने जनाइन् ।
उपकार बचत तथा ऋण सहकारी संस्थाले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तीज गीत प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकार जनताको सकारात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरिन् ।
सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल–पोखराको बाटो दुई घण्टामा छोट्याउने योजनाका साथ अगाडि बढेको उनको भनाइ छ ।
‘बुटवल र पोखरा आएका पर्यटकलाई स्याङ्जामा ल्याउने, यहाँका होमस्टेहरुको परिचालन गर्ने हो’, मन्त्री अर्यालले भनिन्, ‘गएका दुई वर्षको अन्तरालमा यहाँका पालिका हेर्नुस्, मूल्यांकन गर्नुस् परिवर्तन र बदलाव आफैँ देख्नुहुन्छ ।’
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६