इटहरी । इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका सामग्री हटाउन सुरु गरेको छ ।
सडक सुशासन कायम गर्न पूर्व–पश्चिम सडकको पचरुखी चोकदेखि सडकको दायाँबायाँ साढे ८२ फिट सफा गर्न सुरु गरिएको हो । एक सातासम्ममा रामधुनी नगरपालिकाको सीमासम्म क्लियर गरिसक्ने उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले बताए । अवैध संरचना हटाउन सात दिनको समयसीमा दिँदा पनि नहटाएपछि उपमहानगरले हटाउन थालेको हो ।
रामधुनी नगरपालिकाको सीमासम्म सडक सफा गरिसकेपछि अर्को एक हप्ता पचरुखीपूर्व बुढी खोलासम्म पुनः अस्थायी संरचना र राखिएका सामग्री हटाइने मेयर चौधरीले जानकारी दिए । गत वर्ष भदौमा बुढी खोलादेखि पचरुखीसम्म सफाइ गरिएको थियो ।
यस वर्ष सडक सुशासन अभियान सुरु गर्नुअघि उपमहानगरले सम्बन्धित विषयगत कार्यालय र सरोकारवाला पक्षसँग छलफल गरेको थियो । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको थियो ।
कार्यक्रममा सडक डिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योग वाणिज्य संघ, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६