भारतको असम राज्यमा राष्ट्रिय नागरिकता दर्ता (एनआरसी, रानाद) को अन्तिम सूचीमा १९ लाख ६ हजार ६५७ जनाको नाम छुटेको छ।
भारतीय गृहमन्त्रालयले शनिवार जारी गरेको अन्तिम सूचीमा ३ करोड ११ लाख २१ हजारको मात्र नाम रहेको छ। गत वर्ष जारी गरिएको रानाद सूचीमा करिब ४० लाखको नाम छुटेको थियो।
नेपाली भाषी करिब १ लाख ४० हजार व्यक्तिको नाम छुटेको नेपाली भाषी भारतीयले जानकारी दिएका छन्।
त्यसको विरोध भएपछि एक समिति बनाई फेरि दर्ता प्रक्रिया अघि बढाइएको थियो। गत वर्षको सूचीमा छुटेका करिब २१ लाख व्यक्ति यो वर्षको सूचीमा समेटिएका छन्।
रानाद सूचीमा नाम भएका व्यक्ति भारतीय नागरिक मानिनेछन् भने यसमा नाम नभएका व्यक्ति विदेशी मानिनेछन्। यसको असम राज्यमा विरोध हुन थालेको छ।
असमका विभिन्न ठाउँमा प्रदर्शन हुने डरले सुरक्षा व्यवस्था कडा बनाइएको छ। सूची जारी भएपछि कैयौं ठाउँमा मानिस आक्रामक र दुःखी देखिएका छन्।
करिब १० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ। असम प्रहरीले रानाद सूचीमा छुटेका व्यक्ति विदेशी हुने भन्ने कुरा अफवाह भएको दाबी गरेको छ। नाम छुटेका व्यक्तिका लागि पनि सुरक्षा व्यवस्था गरिन थालेको छ। राज्यका विभिन्न ठाउँमा धारा १४४ लागू गरिएको छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६