नाइजेरिया सरकारले नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट सात महिनाको अवधिमा एक हजार ४६० जनाको मृत्यु भएको जनाएको छ । यसै वर्षको जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा सशस्त्र समूहले कम्तीमा ३३० वटा आक्रमण गरेका थिए ।
उत्तरपश्चिम केब्बी राज्यमा भएको सुरक्षाफौजको बैठकमा विगतमा निकै शान्त रहेको यस क्षेत्रमा सुरक्षा खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको थियो । नाइजेरियाका मुख्यसचिव अमिना शामाकीले जुनदेखि जुलाईको अवधिमा हिंसात्मक आक्रमणका घटनामा भने सामान्य कमी आएको बताए । खासगरी, जाम्फारा राज्यमा सशस्त्र डाकु समूहका गतिविधि र पशुपक्षीको चोरीका घटनामा कमी आएको छ । जाम्फारा राज्यमा सशस्त्र डकैतीका घटनामा कमी आएपनि मुलुकका अन्य भागमा अपहरण समेतका घटनामा निकै वृद्धि भएको छ । सिन्ह्वाका अनुसार गत शुक्रबार यतामात्र नाइजेरियामा कम्तीमा चारवटा अपहरणका घटना भएका छन् भने करिब ३० जनालाई सशस्त्र समूहले बन्धक बनाएका छन् । मुख्यसचिव शामाकीले भने – अर्को चिन्ताजनक कुरा खुला सिमानाको हो ।
खुला सीमाबाट साना हतियार सहजै भित्रिने गर्दा हिंसात्मक घटनामा वृद्धि भएको छ । नाइजेरियासँग सीमा जोडिएका युद्धग्रस्त मुलुकहरुबाट हातहतियारका साथै आतंकवाद, सीमापार अपराध, मानवतस्करी, अवैध आप्रवासन समेतका घटना भइरहेका छन् । उनले नाइजेरियाको संघीय सरकारले यी चुनौतीलाई विशेष ध्यानमा राखी सीमा सुरक्षालाई व्यवस्थित तुल्याउन पहल गरिरहेको जानकारी दिए । सुरक्षा व्यवस्था सुदृढ गर्न संयुक्त सुरक्षा फौज तत्कालै गठन गर्ने र आगामी अक्टोबरबाट देशव्यापी परिचालन गर्ने योजना नाइजेरिया सरकारले अघि सारेको छ । यसबाट आपराधिक समूहका गतिविधिसम्बन्धी गोप्य सूचना संग्रह गर्न र तत्काल कारबाही गर्न मद्दत पुग्ने मुख्यसचिव शामाकीले बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६