कहिले विषादी तरकारीको हल्लाले गर्दा उपभोक्ता जङ्गली साग अर्गानिक हुने भन्दै त्यस्ता तरकारी बजारमा किन्ने गर्छन् । कुनै विषादी एवं रासायनिक मलखाद नपरेको जङ्गली सागको बिक्री बजारमा पाइने अन्य साग र तरकारीको तुलनामा बढी स्वास्थ्य लाभ हुने भएको हुनाले आफू बढी जङ्गली तरकारी किन्ने गरेको गुलरिया वडा नम्बर ६ को निसा बुढा कुमालले बताइन् ।
गुलरिया नगरपालिका–९ का दलित महिला जङ्गली तरकारी बेचेर घरखर्च चलाउने गरेका छन् । आयआर्जनको कुनै स्रोत नभएका उनीहरु घरखर्च चलाउनकै लागि दिनहुँ सो जङ्गली तरकारी खोजेर बिक्री गर्दै आएका छन् ।
गुलरियाको हाडबजार छेउमा बसोबास गर्दै भएका सीता विकले बिहानको खानपछि कहिले उत्तर र कहिले दक्षिणतर्फको जङ्गली तरकारी बोकेर बिक्रीका लागि गुलरिया र रम्मापुर चोकमा पुग्छिन् ।
जङ्गलको भेग बुझ्नुभएको सीतासँगै एक दर्जन जना दलित महिला पनि पछि लाग्छन् । अहिलेको वर्खाको सिजनमा जङ्गली साग बिक्रीका लागि निउरो ,जीब्रे , एकपात्ते, च्याउ, फुट्की, कर्मुवा, टामालगायत साग बिक्री हुने गर्दछ । एउटा मुठा सागको कम्तीमा रु २० मा बिक्री हुन्छ ।
एक जनाले ५० देखि ६० मुठासम्म साग ल्याउने गरेको बताउँदै विपन्न महिला फहरी विकले साग बिक्रीबाट दैनिक एक हजार आम्दानी हुने गरेकाे छ ।
गुलरिया नगरपालिका टेपरीको रामकली सुनारले भने, पुरुष ज्यालादारी कामको खोजीमा बाहिरिन्छन् । केटाकेटी स्कूल जाने र वृद्धावृद्धा घरमै बस्छन् । गुलरिया हाडबजार रम्मापुर हाडवजार बैदीहाडबजारमा गरी विभिन्न हाडबजारमा महिला जङ्गली तरकारीको खोजी गरेर ल्याएर बेच्ने गर्छन् ।
तरकारी बिक्री गरेर आफू र आफ्ना परिवारका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरीदमा सहज भएको फहरी विकले बताइन् ।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६