बाजुराः बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाबीचमा रहेको बुढीगंगा नदीमा गत वर्ष गएको पहिरोका कारण बनेको बाँध नहटाउदा समस्या भएको छ ।
त्रिवेणी नगरपालिका–९ पैमा र बुढीगंगा नगरपालिका–२ ताप्रीसेरा जोड्ने राजाढुङ्गा झोलुङ्गे पुल हुँदै दैनिक तीन सयको हाराहारी आवतजावत हुने गरेपनि अहिले समस्या भई ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको ताप्रीसेराका स्थानीय गणेश थापा बताउछन् ।
ताप्रीसेराबाट खसेको पहिरोले राजाढुङ्गा झोलुङ्गे पुलमुनी बाँध बनाएपछि बुढीगंगा नदीको बहाव माथि उठेको हो । गत वर्षको पहिरोका कारण बालुवा र गिट्टी पुलमुनी थुप्रिदा समस्या भई खोलाको पानी माथि उठेको थियो । यस वर्ष थप समस्या भएकोले बालुवा र गिट्टी नै पुलसम्म आइसकेको स्थानीय थापाले बताए, ‘यो साल अब तीनदिन मा पानी परे पुल नै बगाउन सक्छ ।’ पुल बगाए ताप्रीसेरा र पैमा गाउँ पनि पहिरोले असर गर्न सक्ने स्थानीयहरु बताउछन् ।
गत वर्ष पानीको वहाव कम थियो भने यस वर्ष थप बालुवा र गिट्टी थुपारेको हुँदा जोखिम पनि थपेको हो । राजाढुङ्गा झोलुङ्गे पुलको बाटो हुँदै त्रिबेणी नगरपालिकाका विद्यार्थीहरु बडीमालिका क्याम्पस पढ्न आउने गरेका छन् भने स्थानीय र बटुवा पनि त्यही बाटो हुँदै हिड्नु पर्छ । पानीको बहाव केही कम भएको बेला पढ्न जाने र पानीको बहाव बढेको खण्डमा पुलसम्म गएर घर नै फर्कनुपर्ने बाध्यता रहेको बडीमालिका क्याम्पस पढ्ने विद्यार्थीहरुको गुनासो छ ।
दैनिक यति धेरै स्थानीयहरुले उक्त पुल हुँदै यात्रा गर्ने गरेको भएपनि नगपालिकाको बजेटले पहिलो पन्छाउन नसकिने तथा सँघ र प्रदेश सरकारसँग पटक पटक माग गरेपनि पहिरो पन्छाउने काम नभएको त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले बताए । अहिले जोखिम भएकोले नहिड्न आग्रह गरिएको भएपनि बैकल्पिक बाटो नजिक नरहेकोले त्यही बाटो हुँदै हिड्ने गरेका प्रमुख रावलले बताए ।
पहिरो पन्छाउने र अग्लो स्थानमा झोलुङ्गे पुलको माग सम्बन्धित निकायमा गरिएको बुढीगंगा नगरपालिकाका प्रमुख दिपक विक्रम शाहीले बताए । स्थानीयहरुको समस्यालाई मध्यनजर गरेर सम्बन्धित निकायमा समस्या समाधानको पहल गरिएको भएपनि पुल सर्भेको काम बाहेक केही सुनुवाई नभएको बुढीगंगा नगरपालिकाका प्रमुख दिपक विक्रम शाहीले बताए ।
राजाढुङ्गा झोलुङ्गे पुलको विकल्पको रुपमा करिव चार किलोमिटर टाढा रहेको बाम्का र मौरेमा मात्र बाटो रहेकोले चार किलोमिटर घुम्नुको सट्टा त्यही पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यतामा स्थाीयहरु रहेको बुढीगंगा नगरपालिकाकी उपप्रमुख तारा खातीले बताइन् । अहिले पानी परेको बेला पानीको बहाव बढ्ने र पानी नपरेको बेला केही घट्ने क्रम भइरेकोले कहिले के समस्या हुन्छ केही थाहा नहुने भएकाले तत्काल सम्बन्धित निकायले चासो देखाउन बुढीगंगा नगरपालिका–२ का वडाध्यक्ष हिरालाल थापाले आग्रह गरे ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६