पार्टी एकताको १५ महिनापछि पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज (सोमबार) बस्दै छ।
यसअघिका बैठकको अध्यक्षता प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गर्दै आएका थिए। उनी उपचारका लागि सिंगापुरमा रहेकाले पहिलोपटक एक अध्यक्षको अनुपस्थितिमा अर्का अध्यक्षको अध्यक्षतामा बैठक बस्न लागेको हो।
नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबार १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको छ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले दाहाललाई उपचारका लागि सिंगापुर जानुअघि पार्टीको बैठक, निर्णयलगायतका काम सहमतिमा गर्न जिम्मेवारी दिएका थिए। सोहीअनुसार अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गर्दै सचिवालय बैठक बोलाएका हुन्।
बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, टुंगो लागेको कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा छलफल गरिने एजेन्डा राखिएका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो अझै लागेको छैन। आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६