केही वर्षपछि सांसदहरूले भाडाको भवनमा बैठक बस्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले सिंहरदबारभित्र तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी प्रतिनिधिसभामा ९ सय र राष्ट्रिय सभामा ६ सय जना अट्ने भवन निर्माण गर्ने भएको छ।
पहिलो संविधानसभाको निर्वाचनपछि हालसम्म सांसदहरू नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाको भवनमा बैठक बस्दै आएका छन्। सिंहदरबारभित्र बन्ने नयाँ संसद् भवनको निर्माण सम्पन्न भएसँगै भाडाको भवन प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको हो।
सरकारले भवन निर्माणका लागि आवेदन दिएका निर्माण कम्पनीको छनोटअन्तर्गत मूल्यांकनको काम गरिरहेको छ। सहरी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद दवाडीले मूल्यांकनको काम धमाधम भइरहेको र अब चाँडै भवन निर्माण सुरु हुने बताए।
सिंहदरबारको उत्तर पूर्वी भागमा रहेको पुतली बगैंचाको १७३ रोपनी क्षेत्रफलमा भवन बनाउन लागिएको हो। हाल सो स्थानमा नेपाली सेना बस्दै आएको छ।
सेनाको आफ्नै भवन बन्दै गरेकाले हालका लागि अस्थायी संरचनामा सर्ने गरी सहमति भएको मन्त्रालयको भनाइ छ। विभागमा महानिर्देशक मणिराम गेलालले निर्माण सुरु भएको तीन वर्षमा भवन निर्माण सम्पन्न हुने बताए। अब भवन निर्माण चाँडै सुरु हुने भएकाले आर्थिक वर्ष २०७८/७९ सम्ममा सम्पन्न हुने उनको भनाइ छ।
भवन निर्माणका लागि सहरी विकास मन्त्रालयले ठेक्का आह्वान गरेकोमा करिब दुई दर्जन कम्पनीले आवेदन दिएका थिए । तीमध्येबाट कम्पनी छनोट गरेर काम अघि बढाइनेछ। अब बन्ने भवन परम्परागत शैलीमा आधुनिक प्रविधिबाट निर्माण हुने भएको छ।
त्यसमा नेपालको आफ्नो मौलिकता झल्कने गरी बनाइने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६