काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपीहरुको बयान शुरु भएको छ। आज अस्मीता कार्कीको बयान गराइएको छ भने दुईजनकाे बयान बाँकी रहेपछि उनीहरू तीनै जनालाई न्यायिक हिरासतमा पठाइएकाे अदालतले जनाएकाे छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना विरुद्ध आरोप पत्र दायर गरेको थियो । उक्त आरोपपत्रमा उनीहरुले पुडासैनीलाई आत्महत्या गर्न उक्साएको जिकिर गरिएको छ।
जिल्ला अदालत चितवनमा उनीहरुको मुद्दा दर्ता भएसँगै बयान शुरु भएको छ। न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान आइतवारबाट शुरु भएको हो।
रावलको इजलाशमा आज अस्मीता कार्कीको बयान गराइएको छ । त्यस्तै बाँकी आरोपीहरु लामिछाने र कडेलको बयान भने सोमबार हुनेछ। सोमबार उनीहरुको बयान समाप्त भएपछि थुनछेक बहश शुरु हुनेछ।
आरोप पत्रमा उनीहरुलाई हदैसम्मको अर्थात् पाँच वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६