विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्रा विराटनगरमा धुमधामसँग मनाइएको छ । सो अवसरमा प्रदेश नम्बर १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, संघीय सांसद शिवकुमार मण्डल, प्रदेश सांसद केदार कार्की र बिन्दिया कार्कीले विशेष पूजाअर्चना गरे ।
भगवान् श्री राधाकृष्ण रथयात्राको ५२औँ महोत्सवमा हेलिकप्टरवाट पुष्प वर्षा राउनुका साथै ड्रोन क्यामराबाट सुरक्षा अनुगमन गरिएको थियो । रथयात्रा अपराह्न ४ बजे युगल जोडी भगवान् श्री राधाकृष्ण विराजमान रथ मन्दिरबाट प्रारम्भ भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनःमन्दिरसम्म सात किमीको दूरी पार गरेको थियो ।
विसं १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर) यात्राका रुपमा सुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राका रुपमा परिणत भएको हो । रथ पेगोडा शैलीमा लम्बाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिटको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि फैलिएका लठ्ठा (डोरी) छ । दायाँपट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनले लठ्ठा समाइ रथ सञ्चालन गर्ने व्यवस्था मिलाइएको थियो ।
रथयात्राको अवधिभर सुरक्षाका लागि सादा पोशाकलगायत एक हजार सात सय प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६