काठमाडौं । २५ वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत छिन् । स्थायी घर मोरङ बताउने उनी हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा छिन् ।
दुई वर्षपहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो । श्रीमान् र श्रीमतीबीच तत्काल बच्चा नजन्माउने सल्लाह अनुसार विराटनगर बजारकै औषधि पसलेकहाँबाट एक हजार रुपियाँ तिरेर घरैमा औषधि ल्याएर खाइन् । औषधि खाएको सात÷आठ घण्टामा गर्भपतन त भयो तर रगत चाहिँ धेरै बग्यो । औषधिको असरका कारण उनको पाठेघरमा प्वाल परिसकेको र पाठेघरमा थप सङ्क्रमण हुन नदिन पाठेघर नै फ्याल्नुपर्ने भएपछि ठूलो पीडामा छिन् ।
बिनाजस्तो शिक्षित र सहरमा बस्नेलाई त गर्भपतनको औषधि कस्तो स्वास्थ्य संस्था र कस्ता चिकित्सकको सल्लाहमा खाने भन्ने जानकारी रहेनछ । अझ अशिक्षित र दूरदराजका महिलाको हालत के होला ? यसबाटै पनि सहज अनुमान लगाउन सकिन्छ । औषधिको प्रयोग होस् वा औजारबाट गरिने गर्भपतन होस् दुवै विधिबाट गर्ने गर्भपतनका लागि सरकारले चिकित्सक, नर्स र अनमीलाई तालिम दिएको छ तर जथाभावी गर्भपतनको प्रवृत्ति निरन्तर बढ्दैगएको छ ।
समस्या बढ्दो क्रममा
बिनाको घटना त प्रतिनिधिमूलक मात्रै हो । पढे लेखेकै व्यक्तिले समेत बुझ्दै नबुझी सूचीकृत नभएका औषधि पसल र यससम्बन्धी सामान्य ज्ञानसमेत नभएका औषधि पसलेको सल्लाहमा गर्भपतनका औषधि (कीट) प्रयोग गर्छन् । यसले स्वास्थ्यमा गम्भीर समस्या भोग्ने बिना मात्र होइन । पछिल्लो समयमा धेरै महिला पीडित छन् तर यसको औपचारिक अध्ययन भने भएको छैन ।
गर्भपतन सेवा आवश्यक हो र सुरक्षित गराउनुपर्छ भन्दै वकालत गर्दैआएको संस्था कृपाले यस प्रकारको औषधिको जथाभावी प्रयोगले धेरै महिलाको स्वास्थ्य युवा अवस्थादेखि नै जोखिममा परेको दाबी गर्दैआएको छ । सो संस्थाले दुई वर्ष पहिले सामान्य अध्ययन गर्दा पनि नेपालमा गर्भपतनका लागि १४ प्रकारका औषधि प्रयोग भएको पाइएको जनाएको छ । जबकि सरकारले नेपालमा सुरक्षित रूपमा गर्भपतन गराउनका लागि चार प्रकारका औषधि मात्रै दर्ता गरेको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले खुला नाकाबाट जथाभावी रूपमा भित्र्याएर ठाउँ–ठाउँमा अनधिकृत रूपमा औषधि बिक्री गरेको सरकारका जिम्मेवार नियमनकारी निकायलाई थाहा हुँदाहुँदै पनि रमिते बनेको आरोप लगाए। गाेरखापत्रले छापेकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६