काठमाडाैं । केन्याको एक संगठित र ठूलो लागुऔषध माफियाको गिरोहमा एक नेपाली युवतीसमेत संलग्न रहेको खुलेको छ । भारतीय मूलका विवादास्पद व्यापारी अली पुन्जानीको गिरोहमा नेपाली युवती सुस्मिता कार्कीको संलग्नता खुलेपछि उनीमाथि केन्या प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मोम्बासा सहरमा रहेको पुन्जानीको घरबाट गत १३ अगस्टमा कार्कीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । पर्याप्त प्रमाण नभएको भन्दै अदालतको आदेशमा उनी दुई दिनपछि छुटेकी छिन् । थप अनुसन्धान गरी उनीमाथि मुद्दा दायर हुने केन्या प्रहरीलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेपछि कार्कीले आफू पुन्जानीको श्रीमती भएको बताएकी छिन् । उनको घरबाट नेपाली युवक शिव बस्याल र भारतीय नागरिक राम मनोजसमेत पक्राउ परेका थिए । बस्याल र मनोज घरेलु कामदार हुन् । उनीहरू तीनैजना अदालतको आदेशमा छुटेका छन् ।
भारतीय मूलका व्यापारी पुञ्जानी फरार
केन्याको दोस्रो ठूलो सहर मोम्बासामा बस्दै आएका भारतीय मूलका व्यापारी पुञ्जानी हाल फरार छन् । लागुऔषध मुद्दामा केन्या प्रहरीले उनीमाथि वारेन्ट जारी गरिसकेको छ । उनीमाथि पहिलेदेखि नै अवैध गतिविधिमा संलग्न भएको आरोप लाग्दै आए पनि अहिलेसम्म लागुऔषध तस्करीको मुद्दा दायर भएको छैन । उनको अवैध धन्दामा राजनीतिक तथा प्रहरीको संरक्षण रहेको भन्दै कारबाहीका लागि यहाँको संसद्मा माग भएको थियो ।
केन्याको उच्च तहसँगको पहुँचका आधारमा उनले उन्मुक्ति पाउँदै आएको केन्याका सञ्चारमाध्यमले जनाएका छन् । उनका सहयोगीहरू पटक–पटक ठूलो मात्रामा कोकिन र हेरोइनसहित पक्राउ पर्दै आएका छन् ।
गत १३ अगस्तमा १२ घन्टा लगाएर प्रहरीले पुञ्जानीको घरमा छापा मारेको थियो । उनको घरमा ठूलो मात्रामा लागुऔषध रहेको आशंका छापा मारिएको थियो । तर, थोरै गाँजा मात्र भेटिएको थियो । तस्करीमा सघाएको आरोपमा कार्कीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेस गरेकोमा लागुऔषध बरामद नभएपछि उनीहरू छुटेका हुन् ।
लागुऔषध कारोबारविरुद्ध केन्या सरकारले थालेको अभियानअन्तर्गत उनको घरमा छापा हानिएको थियो । तर, पुञ्जानीले प्रहरीबाट त्यसबारे पहिले नै सूचना पाएको र भारतमा भागेको केन्याका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सोही अभियोगमा मोम्बासाका केही उच्च प्रहरी अधिकारीको सरुवा गर्न लागिएको छ । मोम्बासा सहरकै सबैभन्दा धनाढ्यका रूपमा चिनिएका उनीमाथि नक्कली नोट कारोबारको आरोपसमेत लाग्दै आएको छ । नयाँ पत्रिकामा खबर छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६