विराटनगर — मुलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण प्रयास विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् भने वैशाखदेखि असारसम्म ४२ जिल्लाका ३ हजार ४ सय २५ जनामा डेंगु संक्रमण पाइएको छ । संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन छ । नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले तत्कालै यो रोग नियन्त्रण हुनेमा समेत आशंका छ ।
धरानमा तीन महिना बितिसक्दा पनि डेंगुनियन्त्रण हुनुको सट्टा फैलने क्रम जारी छ ।उदयपुर, पाँचथर र मोरङलगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धरानमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको अनुमान छ ।
प्रदेश १ क्षेत्राधिकार रहेको धनकुटास्थित स्वास्थ्य निर्देशनालयमा ५ स्वास्थ्य अधिकृत र ७ उपसचिव तहका जनशक्तिको दरबन्दी रहेकामा उपसचिव तहका एक जना मात्र कार्यरत छन् । निर्देशनालय प्रमुख अर्थात् निर्देशक चन्द्रदेव मेहताको भरमा कार्यालय चलिरहेको छ । उनी पनि तालिम, गोष्ठी र प्रशासकीय काममै व्यस्त रहन्छन् ।‘कर्मचारी समायोजनका क्रममा भएको त्रुटिले गर्दा निर्देशनालयले जनशक्ति पाउन सकेको छैन,’ महतोले भने, ‘जनशक्ति थप्न प्रदेश एवं संघीय सरकारलाई भनिए पनि सुनुवाइ भएको छैन ।’
एडिस एजिप्टाई र एडिस एल्बो पिक्टस जातको पोथी लामखुट्टेले सफा पानीमा पारेको अन्डा, लार्भा र प्युपा नष्ट गर्न ‘खोज र नष्ट गर’ (सर्च एन्ड डिस्ट्रोय) अभियान चलाइए पनि त्यो प्रभावकारी हुन सकेन । डेंगुको खोप वा औषधि नभएकाले नियन्त्रणका लागि लामखुट्टे मार्नु र त्यसका अन्डा, लार्भा र प्युपा नष्ट गर्नुको विकल्प नभएको विज्ञहरूको भनाइ छ । धरानमा वैशाख २९ मा पहिलो पटक डेंगु संक्रमण देखिएको थियो ।
शुक्रबारसम्म ३ हजार ४ सय जना संक्रमित भएको धरान उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले जनाए । यो तथ्यांक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार गर्न पुगेकाहरूको मात्र हो । विभिन्न क्लिनिकमा उपचार गराउनेको पनि संख्या जोड्ने हो भने धरानमा मात्रै संक्रमितको संख्या ५ हजार नाघ्छ । ‘जेठ–असारतिर सबैभन्दा बढी एक दिनमै ५० देखि सय जनासम्म अस्पताल भर्ना भएका थिए,’ यादवले भने, ‘साउनयता दैनिक २५/३० नयाँ बिरामी देखिएका छन् ।’ एउटै परिवारमा ७ जनासम्म संक्रमित भेटिएका छन् ।
धरानलाई डेंगु संकटग्रस्त क्षेत्रसमेत घोषणा गरेर र्यापिड रेस्पोन्स टिमसमेत गठन गरिएको थियो । डेंगु महामारीविरुद्ध मुलुकमै पहिलो पटक यस्तो टिम गठन गरिएको हो । टिममा बीपी प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिन विभागका विशेषज्ञ चिकित्सक र ल्याब टेक्निसियन समावेश गरिएको थियो । उक्त टिमले सर्च एन्ड डेस्ट्रोय अभियान तीव्र बनाउन घरदैलो गरेको थियो ।
डेंगु नियन्त्रणमा धरान उपमहानगरले ३० लाख रुपैयाँ खर्चिइसकेको छ । डेंगुबारे धरानका स्थानीय समुदाय व्यक्तिगत रूपमा सचेत रहेको पाइए पनि उनीहरूले जानेको ज्ञान भने व्यावहारिक रूपमा लागू नगर्दा नियन्त्रण हुन नसकेको एक सर्वेक्षणले देखाएको थियो । ‘डेंगुबारे थाहा हुँदाहँॅदै पनि नियन्त्रण गर्न सक्रियता नदेखाएको पाइयो,’ सर्वेक्षक केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभाग प्रमुख धीरेन लिम्बूले भने, ‘अरू आएर सर्च एन्ड डेस्ट्रोय गरिदिऊन् भन्ने मात्रै बढी देखिए ।’ कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६