काठमाडौं ।सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए ।
शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परस्थितिमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले नै समन्वयकारी भूमिका निर्वाह गरेका थिए।
त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतको जिम्मेवारीमा थिए । उनी तत्कालीन नेकपा एमालेका महासचिव र प्रचण्ड विद्रोही माओवादीको अध्यक्ष थिए। अहिले परिस्थिति ठ्याक्कै मोडिएको छ।
अहिले दुवै पार्टी मिलेको अवस्था छ। दुवै नेता एउटै पार्टी (नेकपा)को जिम्मेवारीमा छन् तर समान हैन, फरक हैसियतमा। प्रचण्ड एकीकृत नेकपाका अध्यक्ष हुन् भने नेपाल सोही पार्टीको चौथो वरीयताको वरिष्ठ नेता हुन् ।
पार्टी एकीकरण भएको १५ महिनाको अवधिमा नेकपाले सांगठनिक एकताको काम करिब–करिब टुंगो लगाउने अवस्थामा पुगेका बेला नेता नेपालको वरीयता खोसिएपछि नेकपामा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको विवाद सतहमा नै आएको छ। सचिवालय बैठकमा ओली र नेपालबीचको भनाभनले नयाँ परिस्थिति उत्पन्न गराएको छ।
वरीयता खोसिएपछि महासचिव विष्णु पौडेललाई नेपालले बुझाएको ‘सात बुँदे नोट अफ डिसेन्ट’ र बैठकमा अध्यक्ष ओलीमाथि प्रयोग गरिएका शब्दकै कारण स्वास्थ्योपचार गर्न जाँदै गरेका ओलीले नेपालले दिएको स्वास्थ्य लाभको कामनासमेत फिर्ता लिने अवस्था सिर्जना भयो।
सचिवालय बैठकमा अध्यक्ष र नेपालको भनाभनले महोल नै परिवर्तन गरिदिएको छ। बैठकमा भनाभन भएपछि स्वास्थ्योपचार गर्नका लागि बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सिंगापुर गएका छन् ।
उनी त्यसतर्फ प्रस्थान गरेपछि पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा देखिएको ओली र नेपालबीचको तिक्तता मेटाउने पहल सुरु गरेका छन्।
प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र नेपालबीच बालुवाटारमा भएको भनाभनको विषयमा छलफल भएको थियो। वरिष्ठ नेता नेपालले बैठकमा आफूले पार्टीभित्रका सैद्धान्तिक विषय उठान गर्दा परिस्थिति असामान्य भएको स्वीकार गरेका छन्। प्रचण्डले पार्टीभित्र अनुशासन हराउँदै जान लागेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच देखिएको असमझदारी न्यूनीकरण गर्न संवाद अगाडि बढाएको बताए।
द्वन्द्वको समयमा प्रचण्डलाई मिलाउन वरिष्ठ नेता नेपालले भूमिका खेल्नुभएको थियो। अहिले पार्टीभित्र अध्यक्ष ओली र नेता नेपालबीच देखिएको विवाद समाधान गर्न प्रचण्ड मध्यस्थकर्ताको भूमिकामा देखिएका छन् ।
२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपाका महासचिव नेपाल दुईवटा निर्वाचन क्षेत्रबाट पराजित भएपछि पनि संविधान निर्माणमा आवश्यक भएकाले प्रचण्डले नै तत्कालीन आफ्नो पार्टीको संविधानसभाका सदस्यलाई राजीनामा दिन लगाएर नेपाललाई संविधानसभा सदस्यमा ल्याएका थिए । नेपाल समाचारपत्रले लेखेकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६