चितवन । चौकुना मिलेको जग्गा। चारैतिरबाट बाटोले छोएको। पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडक खण्डलाई जोड्ने बाइपास रोडसँगै जोडिएको ३० बिघा ११ कट्ठा ६ धुर जग्गाको मालिक हो भरतपुर अस्पताल। आजभन्दा ६४ वर्षअघि चितवनको वन फाँडेर बस्ती विस्तार गर्दा नै भरतपुर अस्पतालका लागि यो जग्गा छुट्याइएको थियो। तर अहिले अस्पताल ११ बिघामा खुम्चिएको छ। अस्पतालले आफ्नो स्वामित्वमा रहेको मध्ये ३६।५ प्रतिशत जमिनमात्रै भोगचलन गर्दै आएको छ। बाँकी जग्गा निजी तथा सरकारी निकायले उपभोग गर्दै आएका छन्। यसले गर्दा अस्पतालका लागि आवश्यक पूर्वाधार बनाउने ठाउँ छैन।
बाघ, भालु, हात्ती, गैंडा, विषालु सर्प, लामखुट्टे आदिका डरले चितवनमा बस्न चाहने मानिस थोरै थिए। बस्ती बसाउने योजना सुरु भएपछि चितवनको समथर र उर्बर जमिनमा पहाडबाट मानिस बसाइँ सर्न थाले। औलोलगायतका रोगको जोखिम धेरै भएकाले स्वास्थ्यउपचार सेवा दिन हेल्थपोस्ट स्थापना गरियो। २०१४ सालमा अस्पताल भवन बनाउन थालेर १५ शड्ढयाबाट उपचार सुविधा दिन थालियो। २०१८ सालमा २५ शड्ढयाको बनाइयो। २०२० सालमा महेन्द्र आदर्श चिकित्सालय नामकरण गरिएको अस्पताल नै अहिलेको भरतपुर अस्पताल हो।
स्थापना ताका नै अस्पतालको विस्तारका लागि दीर्घकालीन रुपमा ठूलो जमिन आवश्यक पर्छ भनेर धेरै जमिन अस्पतालको नाममा राखिएको अस्पताल विकास समितिका पूर्वअध्यक्ष विजय सुवेदी बताउँछन्। अस्पतालको नाममा जग्गा भए पनि उपभोगका लागि अरुलाई दिने काम स्वास्थ्य मन्त्रालय, विभाग तथा अस्पताल विकास समितिकै अग्रसरतामा भएको देखिन्छ।
भरतपुर अस्पतालको जग्गा अहिले ६ वटा संस्थागत कार्यालयले उपभोग गर्दै आएका छन्। केहीलाई सम्झौता गरेर भाडामा जग्गा उपभोग गर्न दिइएको छ। केहीले निःशुल्क जग्गा उपभोग गर्दैछन्। जग्गा टुक्राटुक्रा पारेर बाँडिएको छ। सबैभन्दा पहिला अस्पतालको जग्गा चिकित्सा शास्त्र अध्ययन संस्थानलाई दिइएको थियो। २०३३ सालमा सरकारको निर्णयअनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले अस्पतालका नाममा पत्र काटेर संस्थानलाई जग्गा प्रदान गरेको थियो।
संस्थानले सञ्चालन गर्ने अनमी क्याम्पसका लागि ६ बिघा १९ कट््ठा १० धुर जग्गा उपभोग गर्न दिइएको हो। जग्गाको स्वामित्व अस्पतालकै नाममा रहने गरी जग्गा चलन गर्न र आवश्यक निर्माण गर्न सक्नेगरी दिइएको थियो। त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले पाँच स्थानमा रहेका आफ्ना पाँच क्याम्पस २०५२ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई हस्तान्तरण गरेको थियो। त्यसयता भरतपुर अस्पतालको जग्गा सिटिइभिटीले प्रयोग गर्दैछ।
२०४० साल पुस १७ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार तत्कालीन श्री ५ महेन्द्र आँखा अस्पताल ९हालको भरतपुर आँखा अस्पताल० का लागि नेत्रज्योति संघलाई ३ बिघा १७ कट्ठा १० धुर जग्गा प्रदान गरिएको थियो। नागरिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६