जनकपुर । प्रदेश नमबर २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ वटै जिल्लामा शनिबार हरित प्रदेश अभियान सुरु गरिएको छ । वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश सरकारले तीन लाखभन्दा बढी वृक्षरोपण गर्ने उद्देश्यका साथ आठ वटै जिल्लामा वृक्षरोपण सुरु गरेको हो ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा शनिबार एकै दिन पाँच हेक्टर जग्गामा दुई हजार दुई सय बिरुवा रापेर अभियान सुरु गरिएको छ । मन्त्रालयले १९१.२२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्न लागेको छ ।
सङ्घ र प्रदेश सरकारको क्षेत्राधिकारको विषयमा विवादमा रहेको सागरनाथ वन विकास परियोजनामा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले वनजङ्गलको संरक्षण संवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं २ मा तीन लाख छ हजार बोटबिरुवा रोप्ने योजना लिएको छ ।
सरकारको नीति तथा कार्यक्रमअनुसार हरित प्रदेशको कल्पनासहित हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित खोलानालासहित कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए ।
अग्नीसाइर कृष्णसवरणमा आयोजित एक कार्यक्रमका बीच मन्त्री साहले महगनीको बोट रोपेर अभियान सुरु गरे । अभियानअन्तर्गत महगनी, साल, सिसौ, टिकजस्ता बिरुवा रोपिएको छ । प्रदेश नम्बर २ मै वन क्षेत्र कम रहेकाले विभिन्न प्राकृतिक प्रकोप तथा वन र वातावरणमा सङ्कट निम्तिदै भावी सन्ततिको जीवनसमेत खतरामा पर्ने जिकिर गर्दै खाली रहेको निजी तथा सार्वजनिक जग्गामा समेत वृक्षरोपण गर्न मन्त्री साहले आग्रह गरे ।
सप्तरी जिल्लामा हाल १६ प्रतिशत मात्र वन क्षेत्र छ । अभियानका क्रममा यसलाई वृद्धि गरी कम्तीमा ४० प्रतिशत पुर्याउने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारको यो अभियानले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति रोक्ने तथा जलवायु परिवर्तनमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६