बाँकेमा भारतसँग ‘रोटी बेटीको सम्बन्ध’ शताब्दीऔंदेखिको हो तर मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा ‘बीस वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने’ व्यवस्थाले अभिभावककै संलग्नतामा बालविवाह भारतमा गर्ने ‘गलत चलन’ छ । कानुन छलेर छोरी भारतीयलाई जिम्मा लगाए पुग्ने रीति बस्न थालेको छ ।
अधिवक्ता विश्वजित तिवारीका अनुसार २० वर्ष नपुगेर भएको विवाह स्वतः बदर हुन्छ । कसुर प्रमाणित भए बिहे गर्ने र गराउनेलार्ई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ । तिवारी भन्छन्, ‘विपन्न मधेसी समुदायले कानुन छल्न भारतीय ज्वाइँ खोजेर उतै लगेर बिहे गर्ने जुक्ति निकालेका हुन् ।’
जिल्लामा वर्षमा कति बालविवाह हुन्छन् भन्ने तथ्यांक छैन । जिल्ला प्रहरी कार्यालयले जिल्लामा चार वर्ष अवधिमा ९ वटा मुद्दा मात्र दायर गरेको छ । तर बालविवाह धेरै भइरहेको ‘गुपचुप’ कार्यले दर्शाउँछ ।
बाल क्लब सञ्जालको पहलमा गत आवमा ३५ वटा बालविवाह रोकेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । सबैभन्दा बढी १० वटा नेपालगन्ज उपमहानगरपालिकाकै थिए । जिप्रका बाँकेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी श्यामकुमारी पाइजा मगर रोकिएकामध्ये १५ वटा भारतमा बिहे गर्ने तयारी रहेको बताउँछिन् ।
नेपालगन्ज–१ मा रहेको सेवा केन्द्र कार्यालय नजिकैबाट गत वैशाखमा प्रहरीले काँदु थरकी १८ वर्षीया युवतीको बिहे रोक्यो । घरमा भोज चलिरहेको थियो । जन्ती आउन बाँकी रहेकै बेला दुलहीलाई नियन्त्रणमा लिएर सम्झाएर पठाइयो । एक महिनापछि उनको भारत लगेर बिहे गरियो । मगर भन्छिन्, ‘गुपचुपमा भारतमा बिहे हुन्छ । समस्या परेर हामीकहाँ आउँदा हामी भारतमै अंशबन्डा र बच्चाको अधिकारका लागि लड्न सुझाव दिन्छौं ।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६