नेपालले साफ यू १५ फुटबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । भारतको कल्याणीमा जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार श्रीलंकालाई २–० ले हराएको हो ।
भारतको कल्याणीमा भएको खेलमा नेपालका लागि सशांक बोहोराले पहिलो गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४६ औं मिनेटमा नेपालका लागि शशांक बोहोराले खेलमा अग्रता बनाए ।
श्रीलंकाले गोल फर्काउन बारम्बार नेपालको पोष्टमा प्रहार गरे पनि सफल हुन सकेन । खेलको ८३ औं मिनेटमा नेपालले दोस्रो गोल गर्न सफल भयो ।
नेपालका लागि अशिम राईले गोल गर्न सफल भए । उनी ६८ औं मिनेटमा कृष्ण यादवको स्थानमा मैदान प्रवेश गरेका थिए । यो जितसँगै नेपालले समूहमा तीन अंक जोडेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६