काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीले दोस्रोपटक पाएको समयमा पनि नाम सिफारिस गर्न नसकेपछि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री अर्थात् कुलपति केपी ओलीले बढीमा तीन महिनासम्म दैनिक कार्यसञ्चालन गर्ने गरी त्रिपाठीलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् ।
त्रिविमा उपकुलपति प्रा.डा. तीर्थराज खनियाँको कार्यकाल बिहीबारदेखि नै सकिएपछि शिक्षाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । बिहीबारबाटै उपकुलपतिको पद रिक्त भएका अन्य तीन विश्वविद्यालयमा पनि कार्यवाहक जिम्मेवारी तोकिएको छ ।
नेपाल संस्कृतमा रेक्टर रमेश ढकाल, पूर्वाञ्चल विश्वविद्यालयमा डिन विजयकुमार थपलिया र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. शारदा थपलियालाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
यी विश्वविद्यालयमा उपकुलपति सिफारिस गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित सर्च कमिटीको कार्यावधि पनि तेस्रोपटक २० भदौसम्मका लागि थपिएको छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६