रसुवा । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार बिहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ ।
स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । सो राजमार्ग बुधबार साँझबाट पूर्ण रुपमा खुला भएको उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, चीनको केरूङबाट आयात भएको रेडिमेट मालवस्तु लिई काठमाडाैंतर्फ जाने क्रममा ना २ ख ३८१६ नम्बरको डिब्बा गोसाइँकुण्ड गाउँपालिका–५ को १२ धुम्ती पुछार राजमार्गको बीच भागमा ब्रेकफेल भई दुर्घटना भएको थियो ।
राजमार्ग खुला भएलगत्तै रोकिएका दर्जनाँै सवारीसाधन आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ । राजमार्ग खोल्न मद्दतका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालले बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६