काठमाडौं। देशभर गुठी जग्गाको अतिक्रमण बढेको छ । गुठी संस्थानका ७० जिल्लामा जग्गा छन् । अधिकांश जिल्लाका गुठी जग्गा अतिक्रमणमा परेका छन् । तर, कति अतिक्रमण भयो भन्ने तथ्यांक गुठी संस्थानसँग छैन ।
संस्थानका प्रवक्ता सरोज थपलियाले गुठीको जग्गाको यथार्थ विवरण नभएको स्वीकार गर्छन् । ‘संस्थानसँग एकीकृत र अधावधिक लागत नहुँदा कति जग्गा अतिक्रमणमा परे भन्ने यथार्थ विवरण पत्ता लगाउन सकिएको छैन,’ उनले भने, ‘तर जताततै गुठीका जग्गा अतिक्रमण भएको छ ।’
अधिकांश गुठी जग्गा अतिक्रमणमा पर्दासमेत सम्बन्धित निकायले अतिक्रमण हटाउन कुनै पहल गरेको पाइँदैन ।
सम्बन्धित निकाय मौन रहँदा अतिक्रमण हट्न सकेको छैन । अतिक्रमण रोक्न राजनीतिक दल र पहुँचवाला नै मुख्य चुनौतीका रूपमा रहने गरेको सरोकारवाला बताउँछन् ।
संस्थानले सामान्य प्रकृतिका अतिक्रमण हटाउन समस्या नरहे पनि जटिल प्रकृतिका अतिक्रमण हटाउन विभिन्न समस्या र चुनौती देखिएको जनाएको छ । संस्थानका प्रवक्ता थपलियाले भने, ‘जटिल प्रकृतिका जग्गाको अतिक्रमण हटाउन संस्थानलाई विभिन्न समस्या र चुनौतीको सामना गर्नुपरेको छ ।’
‘सामान्य अतिक्रमण हटाउन संस्थानले नै पहल गर्ने गरेको छ । तर, जटिल प्रकृतिका अतिक्रमण हटाउन संस्थानको एक्लो पहल र प्रयासले मात्र सम्भव देखिएको छैन,’ प्रवक्ता थपलियाले भने । उनले यस्ता अतिक्रमण हटाउन संस्थानले भूमि व्यवस्था मन्त्रालयमार्फत गृह मन्त्रालयसँग समन्वय र पहल गर्ने गरेको बताए । महालेखा परीक्षकको ५६आंै प्रतिवेदनले पनि अधिकांश जिल्लामा रहेका गुठी जग्गा अतिक्रमणमा परेको औंल्याएको छ ।
प्रतिवेदनले बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्अन्तर्गतका १ हजार १५७ रोपनी, दाङको नारायणपुरको १५७ रोपनी, काठमाडौंका विभिन्न स्थानमा रहेको गुठी जग्गा अतिक्रमणमा परेको औंल्याएको छ । तर, जग्गाको अतिक्रमण हटाउन भने कुनै पहल हुन सकेको छैन । अतिक्रमण हटाउन नसक्नुमा राजनीतिक दल र पहुँचवाला व्यक्ति नै मुख्य चुनौतीका रूपमा रहेको सरोकारवाला बताउँछन् । राजनीतिक आड र आश्वासनका कारण अतिक्रमण बढेको उनीहरू बताउँछन् । राजधानीमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६