विराटनगर । १ नम्बर प्रदेशको राजधानी विराटनरमा भगवान् श्री राधाकृष्ण रथयात्राको ५२ औँ महोत्सवका लागि तीव्र गतिमा तयारी भइरहेको छ ।
राधाकृष्ण रथयात्रा समारोह समिति–२०७६ द्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा समितिका अध्यक्ष बाबुराजा ओझाले भदौ ७ गते अपराह्न निस्कने राधाकृष्ण रथयात्रामा हेलिकोप्टरबाट पुष्प अर्पण हुने बताए ।
अपराह्न युगल जोडी राधाकृष्ण विराजमान रथ मन्दिरबाट प्रारम्भ भई सहरका विभिन्न स्थान परिक्रमा गरी पुनः मन्दिरमा पुगी धार्मिक सभामा परिणत हुने छ । विसं १९८८ देखि खटयात्राको रुपमा सुरु भएकामा विसं २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो ।
प्यागोडा शैलीमा निर्माण गरिएको रथ लम्बाइ २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिटको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि लठ्ठा (डोरी) रहने छ । दायाँपट्टिको लठ्ठामा पुरुष र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनले समाई रथ सञ्चालन गर्ने परम्परा छ ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६