पाँचथर । पूर्वी तराईका जिल्लाहरूमा महामारीका रुपमा फैलिएको डेंगु रोग पहाडमै समेत संक्रमण हुने गरेको पाइएको छ ।
स्वास्थ्य कार्यालय पाँचथरका अनुसार तीन महिना अघिदेखि पहाडमै रहेका स्थानीयवासीमा समेत डेंगुको संक्रमण भेटिएको छ । डेंगु संक्रमण गराउने लामखुट्टेले टोकेको अधिकतम तीन महिनाभित्र रोगका लक्षणहरू देखा पर्दछन् ।
सामान्यत लामखुट्टेले टोकेको केही हप्तामै रोगका लक्षण देखिने स्वास्थ्यकर्मीहरूको भनाइ छ । पाँचथर र तेह्रथुमबाट विगत तीन महिनादेखि तराईका जिल्लामा नगएका स्थानीयमा डेंगुको संक्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य कार्यालय पाँचथरका जनस्वास्थ्य अधिकृत उमेश मेहताको भनाइ छ ।
पाँचथरमा डेंगु संक्रमणको जाँच गर्ने समर्पित अस्पतालमा सूचना अधिकारी शिशिर आङ्बो लामो समयदेखि जिल्ला बाहिर नगएका स्थानीयसमेतमा रोगको लक्षण देखिएको बताउँछन् । ‘विगतबारे कसै–कसैले ख्याल नगर्नुभएको होला । तर सबैले त कहाँ–कहाँ गइयो भन्ने कुरा बिर्सेको हुन सक्दैन’, आङ्बोले भने, ‘पहाडमै समेत डेंगुको संक्रमण भएको पुष्टि भएको छ ।’
स्वास्थ्य कार्यालय पाँचथरका अनुसार हालसम्म पाँचथर र तेह्रथुमका गरी १७ जनामा डेंगुको संक्रमण भेटिएको छ । संक्रमण भएकाहरूमध्ये १३ जना तीन महिनादेखि कहाँ रहेको भन्नेबारे स्वास्थ्य कार्यालय र अस्पतालले खोजी गरेका छन् ।
१३ मध्ये सात जनाले आफूहरू विगत तीन महिनादेखि तराईका जिल्लामा नगएको बताएको जनस्वास्थ्य अधिकृत मेहताको भनाइ छ । यसरी दाबी गर्ने संक्रमित एक÷दुई जनाले भुलेको भए पनि सबैले भुल्ने वा झुठो कुरा बताउने सम्भावना नरहने दुवै निकायको दाबी छ । यही दाबीका आधारमा यी निकायले पहाडी जिल्लामा समेत डेंगुको संक्रमण भएको पुष्टि गरेका हुन् ।
जिल्लामै रहेकामध्ये पनि फालेलुङ गाउँपालिका–२ का तीन जनामा डेंगुको संक्रमण भेटिएको छ । उनीहरूले आफूहरू तीन महिना अघिदेखि तराईका जिल्लामा नगएको बताएका छन् ।
यस्तै तेह्रथुमको आठराई गाँउपालिकाका दुई जनामा डेंगुको संक्रमण भेटिएकामा एक जना संक्रमितले तराईका जिल्लामा नगई गाउँमै रहेको बताएका छन् । संक्रमितहरूको भनाइले धेरै गर्मी हुने पाँचथर सदरमुकाम फिदिममा मात्रै नभई ग्रामीण भेगमा समेत डेंगुको संक्रमण गराउने लामखुट्टे पाइने सम्भावना देखिएको जनस्वास्थ्य अधिकृत मेहताको भनाइ छ ।
डेंगुको संक्रमण भएपछि एक्कासी ज्वरो आउने, एक हप्तासम्म ज्वरो आइरहने, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कटकट दुख्नेलगायत लक्षण देखा पर्दछन् । पानीको स–सानो डोपिल्का तथा सफा पानीमा समेत डेंगु सार्ने लामखुट्टे बस्ने र फूल पार्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
दिउँसोको समयमा खुल्ला ठाउँमा नसुत्ने, घर तथा आवासको वरपर सफा राख्न सके यस प्रकारको लामखुट्टे बस्न नसक्ने भएकाले सरसफाइ र दैनिकीमा ध्यान दिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।
एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट डेंगु मानिसमा सर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ । यो लामखुट्टेले दिउँसोको समयमा मात्रै मानिसलाई टोक्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६