काठमाडौ । बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) बनाउन एक नेपालीसहित पाँच देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपालबाहेक पाँच कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना रहेको लगानी बोर्ड स्रोतले जनाएको छ ।
‘यो विमानस्थल बनाउन चाहिने न्यूनतम मापदण्डभित्र नेपाली कम्पनी परेन,’ बोर्ड स्रोतले भन्यो, ‘भारत, स्विट्जरल्यान्ड, फ्रान्सका एक/एक र चीनका २ कम्पनीहरू त्यो मापदण्डमा परे । त्यसकारण उनीहरूबीच नै प्रतिस्पर्धा गराइने सम्भावना छ ।’ प्रस्तावित कम्पनीहरूको मूल्यांकनको काम सकेर प्रतिस्पर्धा प्रक्रिया अघि बढाउन बोर्ड बैठकमा प्रस्ताव लैजाने तयारी भइरहेको छ ।
३ अर्ब अमेरिकी डलर (हालको विनिमय दरअनुसार ३ खर्ब ४० अर्ब रुपैयाँ) को लागत अनुमान गरिएको यो आयोजनामा प्रधानमन्त्रीले अध्यक्षता गर्ने बोर्ड बैठकबाट निर्णय भएपछि मात्रै प्रक्रिया अघि बढ्नेछ । तर सरकारी तथा राजनीतिक अधिकारीहरूबीच सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा नेपाल सरकार आफैंले बनाउने भन्ने विषयमा फरक मत देखिइरहेको छ । यसले विमानस्थल निर्माण प्रक्रिया, मोडालिटी र निर्णयमा ढिलाइ हुने अनुमान छ ।
२०७५ जेठ ३२ गते स्थापना भएको नेपाली कम्पनी म्याट्रिक्स इन्टरप्राइजेजले विमानस्थल निर्माण गर्ने चाहना राखेको छ । त्यस्तै चीनका दुई सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ, चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपको पनि प्रस्ताव छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीको केही प्रतिशत लगानी चाइना कन्स्ट्रक्सन इन्टरनेसनल कर्पोरेसनमा छ । यो चीन सरकारको स्वामित्व भएको कम्पनी हो । यो कम्पनीलाई अन्य सरकारी कम्पनीजस्तै चीनको सरकारी स्वामित्व निरीक्षण तथा प्रशासनिक आयोगले अनुगमन गर्छ । चाइना एयरपोर्ट पनि चीन सरकारको स्वामित्व रहेको कम्पनी हो । यसले विशेषगरी एयरपोर्ट निर्माण र उपकरण जडानका साथै सडक, पुल तथा सुरुङसम्बन्धी प्राविधिक काम गर्छ ।
९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा लिएको भारतीय जीएमआर ग्रुपले पनि निजगढ विमानस्थल निर्माणको प्रस्ताव पेस गरेको छ । जीएमआरले एयरपोर्ट, ऊर्जा, सडकलगायत पूर्वाधार निर्माणको काम गर्छ । यसले भारतको हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, टर्कीको सविहा विमानस्थल, दिल्लीको इन्दिरा गान्धी विमानस्थल निर्माण तथा सञ्चालनको काम गरिरहेको छ ।
स्विट्जरल्यान्डको ज्युरिक एयरपोर्ट एजी र फ्रान्सको भिन्ची एयरपोर्टले पनि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव राखेका छन् । ज्युरिक एयरपोर्ट एजी एयरपोर्ट सञ्चालन गर्ने कम्पनी हो । सरकारी लगानीको यो कम्पनीले ज्युरिककै एयरपोर्ट सञ्चालन गरिरहेको छ । ज्युरिक एयरपोर्ट निर्देशनालय र एयरपोर्ट रियल इस्टेट कम्पनीसँग गाभेर सन् २००० मा यो कम्पनीको स्थापना गरिएको हो । ज्युरिक एयरपोर्ट एजीले अन्य देशमा पनि एयरपोर्ट सञ्चालन र व्यवस्थापनको जिम्मा लिँदै आएको छ ।
भिन्ची एयरपोर्ट फ्रान्सको भिन्ची ग्रुपको सहायक कम्पनी हो । यसले फ्रान्समा १२, पोर्चुगलमा १०, अमेरिकामा ५, जापानमा ३ वटासहित विभिन्न देशका ४५ एयरपोर्ट सञ्चालन गरिरहेको छ । एयरपोर्ट निर्माण र सञ्चालनका लागि यो कम्पनीले लगानी, निर्माण, स्वामित्व र सञ्चालन (बुट) मोडलमा काम गर्छ ।
सरकारले गत चैत १५ र १६ मा आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा यो विमानस्थल निर्माणको प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । उक्त आह्वानअनुसार ६ कम्पनीले इच्छा देखाएका हुन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले यी कम्पनीहरूको मूल्यांकनको काम भइरहेको बताए । ‘हामीले तयार गरेको मापदण्डभित्र कुन कुन कम्पनी पर्छन् भन्ने कुरा मूल्यांकनको काम सकेपछि थाहा हुन्छ,’ उनले भने, ‘चाँडै मूल्यांकनको काम सकेर बोर्ड बैठकमा प्रस्ताव पेस गर्नेछौं ।’ कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६